धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमी(एसपीए) कलेजका विद्यार्थी सागर खनालले एसपीए ईभी मोडल एक कार बनाएका छन्।
एसपीए कलेजको कक्षा १२ विज्ञान सङ्कायमा अध्ययनरत सागर खनालले उक्त कार सोहि कलेजको करीब तीन लाख रुपियाँ लगानीमा छ महिना लगाएर बनाएका हुन ।
कार निर्माणकर्ता सागरका अनुसार, उक्त कार एक पटक चार्ज गरेमा ८० देखि एक सय किलोमिटर सम्म चल्न सक्छ । कार स्टार्ट गर्नका लागी चाबी सँगै सेक्यूरेटी नम्बर पनि आवश्यक पर्दछ । यसले गर्दा कार चोरी हुने सम्भावना नरहने खनालले बताए । त्यसबाहेक कारमा फोल्डीङ सिटको व्यवस्था गरिएको छ । सिटहरू आवश्यकता अनुसार अगाडि पछाडि फोल्डीङ गर्न सकिन्छ । कारमा विभिन्न क्यामराहरूको प्रयोग गरिएको छ । जसले गर्दा चालकले अगाडी पछाडि कोही भए नभएको हेर्न सक्छन् । यो ईलेक्टोनिक कार भएकाले वातावरण मैत्री पनि छ ।
उक्त कारको उद्घाटन शनिबार एक कार्यक्रमको आयोजना गरेर धनगढी उपमहानागरपालिकका मेयर गोपाल हमालले गरेका थिए। सो अवसरमा निर्माणकर्ता सागरसँगै मेयर हमाल बसेर कलेजको प्राङ्गणमा फन्को लगाएका थिए ।
कारको सवारी गरेपछि मेयर हमालले निमार्ण कर्तालाई बधाई दिँदै कलेजले आफ्ना विद्यार्थीको प्रतिभा विकासमा गरेको लगानीको प्रशंसा गरे । मेयर हमालले सागर जस्तै अरू आविष्कारक युवाहरूलाई सपोर्ट गर्न उपमहानगरपालिका सधैँ तत्पर रहने बताए ।
कार्यक्रममा एसपीएका क्याम्पस प्रमुख योगराज उपाध्यायले विधाार्थीले देखाएको इच्छाशक्तिलाई यथार्थमा प्ररिणत गर्न एसपीए कलेज ठुलो लगानी गर्न समेत पछि नपर्ने कुराको उदाहरण यो भएको बताए । निर्माण कर्ता सागर खनालले कलेजको सपोर्ट बाट मात्रै आफ्नो सपना सकार भएको बताए ।
आफूले उक्त कार बनाउने कलेजका प्रबन्ध निर्देशक सुवास शाहीलाई प्रस्ताव राखेको अर्को दिनमै कलेज लगानी गर्न तयार भएको उनले बताए ।कलेजमा भएको उक्त कार्यक्रममा धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले कार सार्वजनिक गरेका हुन् ।