शुक्रबार बेलुका कञ्चनपुरको पुनर्वास नगरपालिका–४ कार्गिलडाँडामा भारतबाट फर्किरहेका तीन जना नेपाली पक्राउ परे। कार्गिलडाँडास्थित सशस्त्र प्रहरीको अग्रपोष्टले उनीहरुको साथबाट १५ लाख २८ हजार भारु सहित गरगहना बरामद गरेको थियो। उनीहरु भारतमा चोरी गरेर पुनर्वासको खुला नाकाबाट नेपाल भित्रिन खोजिरहेका थिए।
शंका लागेर सशस्त्र प्रहरीले चेकजाँच गर्दा कैलालीको गोदावरी नगरपालिका–८ का २९ वर्षीय अमर भुल, २९ वर्षीय खड्ग भुल र डडेल्धुराको आलिताल गाउँपालिका–४ का २४ वर्षीय बिरेन्द्र सार्कीको साथमा चोरीको पैशा र गरगहना भेटिएको थियो।
सशस्त्र प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक भरतराज गिरीका अनुसार भारतस्थित पञ्चाबको फत्तेगढमा आफू काम गर्ने ठाउँमा ती नेपाली नागरिकले चोरी गरेका थिए।
आलितालका २४ वर्षीय बिरेन्द्रको योजनामा चोरी भएको खुलेको उनले बताए। उनी एक वर्ष अघि काम गर्नका लागि भारतको पञ्चाब गएका थिए। उनका मालिकको स्कुल पनि थियो। पञ्चावमा बिरेन्द्र चौकीदारीको काम गर्थे।
एक साता पहिले उनले पञ्चावमा योजनाबद्ध तरिकाले मालिकलाई बेहोस गरेर चोरी गरेका हुन। चोरीमा सघाउन बिरेन्द्रले केही महिना अघि मात्रै कामका लागि गोदावरीका अमर र खड्गलाई पनि बोलाएको खुलेको छ।
‘अन्य दुई जनालाई बिरेन्द्रले केही महिना अघि बोलाएका रहेछन्, मालिकलाई बेहोस बनाएर चोरी गरेको भनेर पञ्चाब प्रहरीमा पीडितले जाहेरी दिएका छन्,’ प्रहरी निरीक्षक गिरीले भने, ‘भारतीय प्रहरीसँग समन्वय गरेर अनुसन्धान गरिरहेका छौँ।’
बिरेन्द्र लामो समयदेखि भारतमै काम गर्दै आएका थिए। उनीसँग भारतीय आधार कार्ड पनि छ। उनी लामो समयदेखि चोरीको घटनामा संलग्न रहँदै आएको खुलेको छ। मालिकले काम गरेको तलब नदिएकोले पैशा चोरेको उनीहरुले प्रहरी समक्ष बयान दिएका छन्।
उनीहरुको साथबाट नगद पैशा सहित सुनको सिक्री, पाउजु, औँठी, मुन्द्रा लगायत गरगहना बरामद गरिएको थियो। भारतीय प्रहरीसँग समन्वय गरेर प्रमाण सहित आएमा चोरीको पैशा र गरगहना फिर्ता गरिने प्रहरीले जनाएको छ।
२०७८ चैत्र ६ गते कैलालीको जानकी गाउँपालिका–६ जगतपुरका मीनबहादुर शाह पनि चोरीको आरोपमा समातिएका थिए।
शाह र उनकी श्रीमती भारतको हरियाणामा चोरीमा संलग्न थिए। चोरी गरेर शाह फरार भएपछि भारतीय प्रहरीले त्यहाँ रहेका अन्य नेपालीलाई पक्राउ गरेको थियो। तिनै नेपालीका आफन्तले शाहलाई पनि भारतीय प्रहरीको हिरासतसम्म पु-याएका थिए।