भारतमा रोजगारी लगाइदिने भन्दै भारत लगेर नेपाली एक युवतीलाई बिक्रि गरेको आरोपमा प्रहरीले दाङका एक होटल संचालक दम्पत्तिलाई पक्राउ गफ्रेको छ।
दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १४ लखन पार्क होटल संचालन गर्दै आएका ५२ वर्षीय बिमुसा सार्की उनकी श्रीमती ३९ वर्षीया टोपली सार्कीलाई प्रहरीले घोराहीकी २० वर्षीया एक युवतीलाई भारतमा लगेर बिक्री गरेको आरोपमा पक्राउ गरेको हो।
प्राप्त विवरण अनुसार, राम्रो रोजगारी दिलाइदिने भन्दै उनीहरूले घोराहीकी २० वर्षीया युवतीलाई गत माघ २१ गते बाँकेको रूपैडिहा हुँदै भारत चण्डीगढमा पुर्याएर बेचबिखन गरेको बताइएको छ। कोठीको मालिकसँग सार्कीले रकम बुझ्दा पीडित युवतीले आफु बेचिएको थाहा पाएकी थिइन । आफ्नो नियमित यौनशोषण भए पछि पिडित युवतीले १२ दिन पछि गएको माघ २२ गते आफ्नो आमालाई जानकारी दिएकी थिइन् । त्यस पछि युवतीकी आमाले गत माघ २२ गते जिल्ला प्रहरी कार्यालय दाङमा निवेदन दिएपछि यो घटनाबारे अनुसन्धान भएको थियो। भारतीय प्रहरीको समेत सहयोगमा फागुन ४ गते ती युवतीको उद्धार गरिएको एसपी वीरबहादुर वलीले जानकारी दिए।
युवतीको उद्धार भएसँगै ती होटल सञ्चालकहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। आफूलाई राखेको भारतको उक्त कोठीमा अन्य युवती पनि रहेको ती युवतीले प्रहरीलाई जानकारी गराएकी छन्।
पक्राउ परेका होटल सञ्चालक दम्पतीलाई मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन अनुसारको कसुरमा मुद्दा चलाइएको प्रहरीले जनाएको छ।