काठमाडौँ । राजधानीको पुरानो बानेश्वरस्थित टंकप्रसाद मार्गमा डेरा गरी बस्ने एक व्यक्तिले श्रीमतीलाई आफन्तकहाँ पठाएर शारीरिक रुपमा अशक्त रहेकी आफ्नी सात वर्षीया छोरीको हत्या गरेर आफुले आत्महत्या गरेका छन्।
रामेछापको खाँडादेवी स्थायी घर भइ फार्मेसी सञ्चालन गर्दै आएका ४२ वर्षीय किशोर भण्डारीले श्रीमती र छ महिने छोरालाई पेप्सिकोलास्थित आफन्तकहाँ पठाएर शनिबार दिउसो शारीरिक रुपमा अशक्त रहेकी आफ्नी सात वर्षीया छोरीको हत्या गरेर आफुले आत्महत्या गरेका हुन्। प्रहरीले घटनास्थलबाट भण्डारीले लेखेको एकपन्ने सुसाइड नोट पनि फेला पारेको छ । उक्त नोटमा छोरीको विषयमा चिन्ता प्रकट गर्नुका साथै उनलाई केही गर्न नसकेको, ऋणलगायतको घरासयी व्यवहार जस्ता विषय उल्लेख गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, उनले गोंगबुमा फार्मेसी सञ्चालन गर्दै आएका थिए भने साथसाथै कस्मेटिकको व्यवसायमा पनि संलग्न थिए । श्रीमती बेलुका पेप्सिकोलाबाट फर्किँदा भित्रबाट कोठाको ढोका लगाइएको थियो । लामो समयसम्म ढोका ढकढक गर्दा पनि नखुलेपछि छिमेकीसहितको सहयोगमा खोलेर हेर्दा भित्र हृदयविदारक दृश्य फेला परेको थियो । लगत्तै प्रहरीकहाँ खबर पुगेपछि बृत्त बानेश्वरबाट टोली पुगेको थियो । जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दानबहादुर कार्कीले प्रारम्भिक अनुसन्धानबाट भण्डारीले छोरीको छुरा हानि हत्या गरे पछि आत्महत्या गरेको देखिएको बताए ।