स्याङ्जाको आँधिखोला गाउँपालिका १ को प्रसिद्ध ग्रामीण पर्यटकीय गाउँ सिरुबारीसहित विभिन्न गाउँमा गएराति श्रृंखलाबद्ध रुपमा चोरी भएको छ । वडा कार्यालय, बैंक, सहकारी, गुम्बा, डिपार्टमेन्टल स्टोर्स, अन्य ७ वटा पसल र केही घरमा चोरी भएको हो । वडाका माझकटेरी राजस्वाँरा, पञ्चमूल, सिरुबारी र धारु गाउँमा चोरी भएको वडाध्यक्ष पवनकाजी अधिकारीले बताए ।
अधिकारीका अनुसार चोरहरुल वडा नम्बर १ को कार्यालय फोरेर भित्र पसी राजस्व बापत उठेको झन्डै दुई लाख रुपैयाँ चोरी भएको छ । यसैगरी वडा कार्यालयसँगै रहेको एनआईसी एसियाको शाखारहित बैंकिङ सेवाबाट पनि केही रकम चोरी भएको छ । ग्रामीण पर्यटकीय गाउँमा रहेको ऐतिहासिक गुम्बा पनि तोडफोड गरी दानपेटिकालगायत महत्त्वपूर्ण सामान चोरी भएको अनुमान गरिएको छ । पञ्चमूल दीगो कृषि सहकारी संस्था, बगाले डिपार्टमेन्टल स्टोर्स, विभिन्न ७ वटा पसल र २ घरमा पनि ठूलो मात्रामा धनसम्पत्ति लुटपाट भएको अधिकारीले बताए ।
सिरुबारीका क्याप्टेन पूर्णबहादुर गुरुङको घरबाट ठूलो मात्रामा सुनचाँदी चोरी भएको छ । डिपार्टमेन्टल स्टोर्सबाट सीसीटीभी क्यामेरा, हार्डडिस्क र मनिटर नै सबै लगिएको छ ।
घटनाबारे स्थानीयले प्रहरीलाई खबर गरेका छन् । अनुसन्धानका लागि जिल्ला प्रहरी र पालिकास्थित प्रहरी कार्यालयबाट अहिले प्रहरी खटिइसकेका छन् । ‘एकै रातमा यति धेरै स्थानमा चोरी हुँदा स्थानीय त्रसित छन्‚’ अधिकारीले भने, ‘पर्यटकीय गाउँ सिरुबारीबारे नकारात्मक सन्देश जान सक्ने भन्दै चिन्तित भएका छौँ ।’
अधिकारीले के कति धनमाल, नगद वा अन्य महत्त्वपूर्ण सामग्री चोरिएको भन्ने यकिन भएको छैन । रातैभरि चोरी हुँदा पनि स्थानीयले केही भेउ पाउन सकेनन् ।
स्याङ्जा प्रहरी प्रमुख एसपी राजीवबहादुर बस्नेतले अहिले घटनास्थलमा प्रहरी निरीक्षकको नेतृत्वमा अनुसन्धान टोली खटाइएको बताए । ‘चोरी भएको भन्ने छ‚’ उनले भने, ‘सबै विवरण आइसकेको छैन । टोलीले अनुसन्धान गरिसकेपछि धेरै कुरा आउला ।’