क्रोएसियालाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश

क्रोएसियालाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश


  • जन संचार
  • बुधबार, २८ मंसिर २०७९
  • 18K
    Shares

दुईपटकको विजेता अर्जेन्टिना कतारमा जारी विश्वकप फुटबलको फाइनलमा पुगेको छ। अर्जेन्टिनाले मंगलबार राती भएको सेमिफाइनलमा क्रोएसियालाई ३–० गोलले पराजित गर्दै कतारमा जारी विश्वकप फुटबलको फ़ाइनलमा पुगेको हो।

अर्जेन्टिनालाई फ़ाइनलमा पुर्याउन जुलियान अल्भारेजले दुई र लियोनल मेस्सीले एक गोल गरेका थिए। खेलको ३४ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै मेस्सीले अग्रता दिलाएका थिए। ३९ औं मिनेटमा अल्भारेजले आफ्नै क्षेत्रबाट बल अगाडि बढाएर सिक्स यार्ड सर्कलबाट गोल गरेका थिए। ६९ औं मिनेटमा मेस्सीको शानदार असिस्टमा अल्भारेजले अर्जेन्टिनालाई ३–० गोलले अगाडि बढाएका थिए।

अर्जेन्टिनाले उपाधिका लागि फ्रान्स र मोरक्कोबीच हुने अर्को सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्ने छ। अर्जेन्टिना छैटौँपटक विश्वकपको फाइनल पुगेको हो। अर्जेन्टिनाले १९८६ यता विश्वकप उपाधि जित्न सकेको छैन।

अर्जेन्टिना फाइनल पुगेसँगै सातपटकका फिफा वर्ष खेलाडी मेस्सीको विश्व च्याम्पियन बन्ने सपना कायमै रहेको छ। सन् १९३० मा आयोजित पहिलो विश्वकपमा फाइनल पुगेको अर्जेन्टिना त्यसपछि सन् १९७८, १९९० र २०१४ मा पनि फाइनल पुगेको थियो। सन् १९३०, १९९० र २०१४ मा उपविजेतामा सिमित भएको थियो।

प्रतिक्रिया