कतारमा जारी विश्वकप फुटबल प्रतियोगिताका गएराती दुई वटा क्वाटरफाइनलबाट साबिक बिजेता फ्रान्स र मोरक्को सेमिफ़ाइनलमा प्रवेश गरेका छन्। इङ्ग्ल्यान्डलाई २–१ ले पराजित गर्दै फ्रान्स सेमिफाइनलमा प्रवेश गरेको हो भने अर्को क्वार्टर फ़ाइनलमा पोर्चुगललाई पराजित गर्दै मोरक्को सेमिफाइनलमा प्रवेश गरेको हो ।
कतारको अल बायत रंगशालामा गएराती भएको पहिलो क्वार्टर फ़ाइनल खेलमा फ्रान्सले खेलको १७ औं मिनेटमा अग्रता लियो भने पेनाल्टीमार्फत गोल गर्दै इङ्ग्ल्यान्डले ५४ औं मिनेटमा बराबरी गोल फर्कायो । तर, खेलको ७८ औं मिनेटमा फ्रान्सले अर्को गोल थप्यो भने त्यसपछि दुबै पक्षबाट थप गोल हुन नसकेपछि खेल फ्रान्सको पक्षमा हुन पुग्यो ।
खेलको १७ औं मिनेटमा फ्रान्सका लागि औरिलियनले अग्रता लिएका थिए । यस्तै खेलको ५४ औं मिनेटमा ह्यारी केनले पेनाल्टीमार्फत गोल गर्दै इङ्ल्याण्डलाई बराबरीमा फर्काए । तर, ७८ औं मिनेटमा फ्रान्सका ओलीभरले गोल गरेर टीमलाई २–१ को अवस्थामा पुर्याए । त्यसपछि इङ्ग्याल्यान्डले पेनाल्टीको अवसर पाएपनि ह्यारी केनले मिस गर्न पुगे । हारसँगै इङ्ग्ल्यान्ड क्वार्डरफाइनलबाटै घर फर्किन बाध्य भएको छ । उता फ्रान्सले अब सेमिफाइनलमा मोरोक्कोसँग प्रतिस्पर्धा गर्नेछ।
यता गएरातीको दोश्रो क्वार्टरफ़ाइनलमा मोरक्कोले पहिलो हाफमा गरेको एक मात्र गोल खेलमा निर्णायक बन्यो र सेमी फाइनलमा प्रवेश गरेको छ ।
क्वार्टरफाइनल खेलको ४२ औँ मिनेटमा युसेफ एन नेसरीले गोल गर्दै मोरक्कोकालाई अग्रता दिलाएका थिए । योसँगै नेसरी विश्वकपमा मोरक्कोका लागि सर्वाधिक गोलकर्ता बनेका छन् । उनले हालसम्म प्रतियोगितामा ३ गोल गरेका छन् ।
त्यसपछि कुनै पनि टोलीले गोल गर्न सकेन र मोरक्को विश्वकपमा पहिलोपटक सेमिफाइनलको यात्रा तय गर्न सफल भयो । खेलको इन्जुरी समयमा वालदि चेडिराले रातोकार्ड खाएपछि मोरक्को १० खेलाडीमा सीमित बनेको थियो । अब मोरक्कोले इंग्ल्याण्ड र फ्रान्सबीचको विजेतासँग सेमिफाइनलमा भिड्नेछ ।