वैद्य माओवादीमा थप संकट : बादलको हस्ताक्षर अभियान, वैद्य अल्पमतमा

वैद्य माओवादीमा थप संकट : बादलको हस्ताक्षर अभियान, वैद्य अल्पमतमा


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २६ चैत्र २०७२
  • 13.3K
    Shares

पार्टी एकताको विषयमा देखिएको विवादले वैद्य माओवादीभित्र थप संकट पैदा भएको छ । महासचिव रामबहादुर थापा बादलले आन्तरिक एकता र समग्र माओवादी एकताका विषयमा १४ बुँदे नयाँ प्रस्तावसहित हस्तक्षर अभियान शुरु गरेका छन् । बहुमत केन्द्रीय सदस्यले बादलको प्रस्तावमा प्रतिबद्धता र सहमति जनाउँदै हस्तक्षर गरेका छन् । यसले अध्यक्ष वैद्य र तत्काल एकीकृत माओवादीसँग एकताको पक्षमा नदेखिएको समूहमाथि ठूलो दवाव परेको छ ।

पार्टीभित्र उत्पन्न विवाद हल गर्न भन्दै केन्द्रीय समिति स्थगन गरेर शीर्ष नेता अहिले आन्तरिक छलफलमा जुटेका छन् । तर, अहिलेसम्म उनीहरुले सहमतिको कुनै विन्दु भेट्टाउन भने सकेका छैनन् । वैद्य नेतृत्वको माओवादीको गत चैत्र १२ देखि केन्द्रीय समिति शुरु भएको थियो । १० दिन वैठकमा पार्टी अध्यक्ष मोहन वैद्य, महासचिव थापाले राखेका प्रस्तावमाथि छलफल भयो । छलफलमा अधिकास केन्द्रीय सदस्यले एकीकृत माओवादीसहित विभिन्न धाराका माओवादीवीचको एकताको पक्षमा मत राखेका थिए । त्यसलगत्तै केन्द्रीय समिति स्थगित गरेर शीर्ष नेता आन्तरिक छलफलमा जुटेका थिए । चैत्र २८ सम्मका लागि वैठक स्थगित छ । वैद्य माओवादीको हाल एक सय ९९ सदस्यीय केन्द्रीय समिति छ ।

केन्द्रीय समिति वैठकमा धारणा राख्नेक्रममा अधिकास सदस्यको आफ्नो पक्षमा मत देखिएपछि महासचिव थापाले कुलबहादुर केसी र लेखनाथ न्यौपानेको प्रस्तावलाई समेत समेटेर १४ बुँदे प्रस्ताव तयार पारेका हुन् । ‘साम्राज्यवाद–विस्तारवाद, घरेलु प्रतिक्रियावाद र सबैखाले संशोधनवाद एवं अवसरवादको भण्डाफोर गर्दै क्रान्तिको विजयका लागि नयाँ आधारमा नयाँ एकता निर्माण गर्न ढृढतापूर्वक अघि बढौँ’ शीर्षकको थापाको प्रस्तावमा एकीकृत माओवादसँग पार्टी एकतालाई जोड दिएको छ । उनको यही प्रस्तावमा बहुमत केन्द्रीय सदस्यले हस्ताक्षर गरेका हुन् । प्रवत्ता पम्फा भुसाल देखि रामदीप आर्चायसम्मका नेताहरुले यो अभियानलाई सहयोग गरेका छन् ।

थापाले आफ्नो प्रस्तावमा एकताका लागि पार्टी नाम फेर्नेदेखि आन्तरिक तथा बृहत् एकताका न्यूनतम आधार समेटेका छन् । थापाको यो प्रस्तावमाथि अध्यक्ष वैद्य, सिपी गजुरेल, देव गुरुङ लगायतका नेताले संवाद वाक्लो पारेका छन् । वैद्य राजनीतिक कार्यदिशामा एकरुपता नभएसम्म एकीकृत माओवादीसँग एकता गर्न नहुँने पक्षमा देखिएका छन् । तर, थापाको नयाँ प्रस्ताव र बहुमत केन्द्रीय सदस्य थापाको पक्षमा लागेपछि वैद्यमाथि दवाव बढेको वैद्य माओवादीका एक केन्द्रीय सदस्यले बताए । ‘उहाँमाथि ठूलो दवाव परेको देखिन्छ ।’ उनले भने, ‘अल्पमतमा परेको अबस्था छ, अव के गर्नुहुन्छ हेर्न वाकी छ । ’

महासचिव थापाको प्रस्तावमा तत्काल पार्टी, जनवर्गीय संगठन–मोर्चाहरूको एकता संयोजन समिति गठन गर्ने, त्यही एकता संयोजन समितिले एकताका भेला आयोजना गर्ने र सोही भेलाले अन्तरिम राजनीतिक प्रतिवेदन, विधान, एकताको महाधिवशेनको मिति, महाधिवेशन आयोजक समिति निर्माण गर्नेसम्मको विषय छ । एकता भेलाले महाधिवेशनको दस्ताबेज लेखन तयारी समिति, व्यवस्थापन समिति, उपसमिति गठन गर्ने र संगठन तथा संर्घषको तत्कालीन कार्यक्रम निर्धारण गर्नेसम्मको विषय उनको प्रस्तावमा राखेका छन् ।

प्रतिक्रिया