अरु त अरु पढाउने शिक्षककै नक्कली प्रमाणपत्र भन्दा जो कोहीलाई पत्यार नलाग्न सक्छ। तर जागीर खान नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको देखिए पछि एक शिक्षकको जागीर नै चट् भएको छ।
शिक्षकको जागीर खान नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने पाँचथरको तुम्वेबा गाउँपालिका-४ मा रहेको धुवाखोला आधारभूत विद्यालयका तत्कालीन प्रावि शिक्षक (करार) बिरजुकुमार गच्छदारको जागीर चट् भएको हो।
नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी शिक्षकको नियुक्ति लिएर लाभ लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीबिरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेपछि उनको जागीर स्वत: गएको अख्तियारले जनाएको छ।
गच्छदारले पीसीएलको शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरी नियुक्ति लिएको उजुरी परेपछि उनीमाथि अनुसन्धान गरेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।
अनुसन्धानको क्रममा गच्छदारले नक्कली प्रमाणपत्र पेश गरी सरकारी लाभ लिएर भ्रष्टाचार गरेको पुष्टि हुन आएकोले मुद्दा दायर गरिएको उनले बताए ।