आसन्न स्थानीय तहको चुनाबमा गठबन्धन गर्न सत्तारुढ दलहरुले बनाएको ११ बुंदे बिधिमा प्रमुख दल नेपाली कांग्रेस अडिग नहुँदा सत्तारुढ गठबन्धन टुट्ने अवस्थामा पुगेको छ।
गठबन्धन संस्कृतिलाई बिर्सिएर नेपाली कांग्रेसले गठबन्धनमा आफु सबैभन्दा ठुलो पार्टी भएको अहमता प्रकट गरेपछि सत्तारुढ गठबन्धन टुट्ने अवस्थामा पुगेको हो ।
देशभर रहेका ६ महानगरपालिका मध्ये तीन वटा नेपाली कांग्रेसलाई र बाँकी तीन मध्ये माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीलाई दिने भद्र सहमति गठबन्धनमा भैसकेको छ। यसभन्दा अघि जुन पार्टीले चुनाब जितेको हो त्यहाँ त्यही पार्टीलाई नेतृत्व दिने र जहाँ एमालेले जितेको छ, त्यहाँ सत्तारुढ गठबन्धनले भागबण्डा गर्ने सहमति पनि गठबन्धन दलहरूले गरेका छन्।
देशभरी रहेका छ महानगरहरु मध्ये काठमाण्डौ, ललितपुर र बिराटनगर महानगरपालिकाको गठबन्धनको सबैभन्दा ठुलो दल नेपाली कांग्रेसलाई दिन अन्य दल सहमत भएका छन्। भरतपुर महानगरपालिका माओवादी केन्द्रलाई र बिरगंज जनता समाजवादी पार्टीलाई दिन सत्तारुढ गठबन्धनमा लगभग सहमति जस्तै भएको छ। तर नेकपा एमालेले जितेको पोखरा महानगरपालिकालाई सत्तारुढ गठबन्धनमा रहेको अर्को दल नेकपा एकीकृत समाजवादीलाई दिन नेपाली कांग्रेस आनाकानी गरिरहेको छ।
अहिले यही पोखरा महानगरपालिकाको नेतृत्व कुन पार्टीले लिने भन्ने बारेमा सत्तारुढ गठबन्धनमा ठुलो बिबाद चलिरहेको छ। यसैकारण सत्तारुढ गठबन्धन टुट्ने हो कि भन्ने आशंका बढिरहेको छ। सत्तारुढ गठबन्धनका अन्य दलहरुले गरेको भागबण्डा बमोजिम एउटा महानगर नेकपा एकीकृत समाजवादीले पाउनुपर्ने जिकिर गरिरहेको छ। सोही बमोजिम बाँकी रहेको पोखरा महानगरपालिका आफ्नो पार्टीले पाउनु पर्ने नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य एबम कास्की जिल्ला इन्चार्ज धनराज आचार्यले दाबी गरेका छन्। देशभरका महानगरपालिकाको भागबण्डा पछि बाँकी रहेको पोखरा महानगरपालिकाको नेतृत्व स्वत: नेकपा एकीकृत समाजवादीले पाउनु पर्ने उनको तर्क छ।
पोखरा महानगरपालिका नेकपा एकीकृत समाजवादीलाई दिन नेपाली कांग्रेस तैयार छैन। ऊ पोखरा महानगरपालिकामा रहेको सत्तारुढ गठबन्धनमा आफ्नो पार्टीको सबैभन्दा ठुलो दल र धेरै मतदाता भएकाले एकीकिर्ट समाजवादीलई छाड्ने नसकिने दाबी गरिरहेको छ।
पोखरा महानगरपालिकामा यस पालि झन्डै दुई लाख सात हजार मतदाता रहेका छन्। बिगतलाई हेर्ने हो भने पोखरा महानगरपालिकामा सामान्यत: ७० प्रतिशत मत खस्ने गरेको छ। यस्तो अवस्थामा पोखरा महानागरपलिकामा चुनाब जित्न सामान्यत: ७५ देखि ८० हजार मत ल्याउनु पर्ने हुन्छ।
गत चुनाबमा पोखरा महानगरपालिकाको चुनाबमा नेकपा एमालेका उम्मेदवार मानबहादुर जिसीले झन्डै १३ हजार मतान्तरले नेपाली कांग्रेसका उम्मेदवार रामजी कुँवरलाई पराजित गरेर पोखरा महानगरपालिकाको मेयर बनेका थिए। अघिल्लो चुनाबमा नेपाली कांग्रेसका उम्मेद्वार रामजी कुँवरले झन्डै ६० हजार मत पाएका थिए। यस्तो अवस्थामा नेपाली कांग्रेसलाई पोखरा महानगरपालिकाको मेयर पद जित्न १५ देखि २० हजार मत आबश्यक छ। नेपाली कांग्रेस एक्लैले पोखरा महानगरपालिकाको चुनाब जित्ने अवस्था छैन। यस्तो अवस्थामा नेपाली कांग्रेसले अन्य दलहरुसंग तालमेल गर्नुको बिकल्प छैन।
गत स्थानीय तहको चुनाबमा नेकपा माओवादी केन्द्रकी उपमेयर पदकी उम्मेदवार गोमा ढकालले करीब आठ हजार मत प्राप्त गरेकी थिइन्। उनी एमालेकी मन्जुदेवी गुरुङसंग पराजित भएकी थिइन्। यस्तो अवस्थामा आफुले मेयर पद पाए पनि जित्न सक्ने अवस्था नदेखेको नेकपा माओवादी केन्द्रले भने पोखरा महानगरपालिकाको मेयर पद दाबी गरिरहेको छैन। उसले उपमेयर पदमा दाबी गर्ने बताइरहेको छ।
सत्तारुढ गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादीले पोखरा महानगरपालिकामा आफ्ना १८ देखि २० हजार मतदाता रहेको जिकिर गरिरहेको छ। तर नेपाली कांग्रेस एकीकृत समाजवादीको दाबीलाई स्वीकार गरिरहेको छैन। एकीकृत समाजवादीको धेरै भए जम्मा पांच हजार मतदाता रहेको हुनसक्ने नेपाली कांग्रेसको जिकिर छ। उसले जनता समाजवादी पार्टीको मत धेरै भए दुई हजार हुनसक्ने अनुमान गरेको छ। कांग्रेसी अनुमान हेर्ने हो भने माओवादी केन्द्रको आठ हजार, एकीकृत समाजवादीको पांच हजार र जनता समाजवादी पार्टीको दुई हजार मत समेत गठबन्धन दलका अन्य दलको कुल मत झाडी १५ हजार रहेको छ। जुन नेपाली कांग्रेसलाई चुनाब जित्न सहायक मत हो।
बिगतको चुनाबमा भन्दा अहिलेको चुनाबमा माओवादी केन्द्र र आफ्नो पार्टीको मतदाता बढेको अनुमान गरिरहेको नेपाली कांग्रेसले यी दुई दलबीच चुनाबी तालमेल गरे पनि चुनाब जित्न सकिने आंकलन गरिरहेको छ। त्यही भएर ऊ पोखरा महानगरपालिकाको मेयर पदमा एकीकृत समाजवादीलाई तैयार छैन।
माओवादी केन्द्र र नेपाली कांग्रेसले मात्रै चुनाबी तालमेल गरेर पोखरा महानगरपालिकामा चुनाब जित्न सक्ने अवस्था छैन। किनकि नेपाली कांग्रेस र माओवादी केन्द्रमा अन्तरसंघर्ष चर्को रहेको छ। यी दुई समूहबीच एकले अर्काको अस्तित्व स्वीकार गरिसकेको वास्ता छैन। नेपाली कांग्रेसमा चुनाबमा गठबन्धन गर्नुपर्ने र नपर्ने गरी दुई खेमा आपसी रुपमा काटाकाट गरिरहेका छन्। माओवादी केन्द्रमा राजकाजी गुरुङ ‘करण’ र दीपक कोइराला ‘रुपक समूह झन्डै पानी बाराबारको अवस्थामा छन्। झन्डै १६ वर्षदेखि एकछत्र राज गरिरहेका गुरुङको समुहलाई माओवादी केन्द्रको पार्टी पोखरा महानगर कमिटिको चुनाबमा कोइराला समुहले पराजित गरेको अवस्थामा त्यो बिबाद तात्तातै रहेको छ। चुनाबमा एक समुहले आफ्नो उम्मेदवारलाई सहयोग नगर्ने हो कि भन्ने आशंका माओवादी केन्द्र भित्र उत्पन्न भैरहेको छ। यस्तो अवस्थामा माओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्धनले मात्र पोखरा महानगरपालिकामा एमालेलाई हराउन नेपाली कांग्रेसलाई मुस्किल रहेको छ।
यदि नेपाली कांग्रेसले पोखरा महानगरपालिकामा जित्ने हो भने गठबन्धन दलका अन्या राजनीतिक दलको सहयोग लिनुपर्ने अनिवार्य जस्तै रहेको छ। कांग्रेसी नेताहेरु के जिकिर रहेका छन् भने कांग्रेस बाहेकका अन्य पार्टीको उम्मेदवार मेयर पदमा उठ्यो भने नेपाली कांग्रेसका एक-तिहाइ अर्थात बिगतको परिणाम अनुसार २० हजार जना नेपाली कांग्रेसका मतदाताले गठबन्धनका उम्मेदवारलाई भोट हालेनन भने गठबन्धनले कसरी चुनाब जित्छ ? ” त्यसैले पनि पोखरा महानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसलाई अन्य गठबन्धन दलहरुले सहयोग गर्नु पर्ने उसको तर्क छ।
त्यसो त नेपाली कांग्रेसकै दाबी र तर्कलाई मान्ने हो भने पनि नेपाली कांग्रेसका उम्मेदवार मेयर पदमा उठे पनि जित्ने अवस्था छैन। कांग्रेसभित्रको गुट उपगुटको लडाई अनि उम्मेदवारका आकांक्षीहरु बिचको तिक्तताले पनि भोट काटिने कान्ग्रेव्सी वृत्तमा चर्चाको बिषय बनिरहेको छ। यस्तो अवस्थामा नेपाली कांग्रेसलाई चुनाब जित्न आबश्यक १५ देखि २० हजार भोट जुटाउन हम्मे हम्मे पर्ने देखिन्छ। त्यसमाथि पनि पोखरा महानगरपालिकाको मेयर पद अन्य पार्टीलाई नदिने अहिलेको कांग्रेसी अडानले गठबन्धन दहरुबिच तिक्तता उत्पन्न भैसकेको अवस्था छ। यस्तै अवस्था जारी रह्यो भने अहिलेको गठबन्धन एक भएर जाने निर्णय गरे पनि नेकपा एमालेलाई पोखरा महानगरपालिकामा चुनाब हराउन सक्ने परिस्थति रहने अवस्था देखिदैन।
यहाँ के बुझ्नु पर्ने देखिन्छ भने गठबन्धन र तालमेल गर्ने भनेकै जित्नका लागि हो। हार्न कसैले गठबन्धन र तालमेल गरेको हुदैन। कम्तीमा एउटा मिशनमा समान बिचार र उद्देश्य लिएर उद्देश्य पूर्तिका लागि गठबन्धन र तालमेल गरिएको हुन्छ। त्यहाँ सबैको अस्तित्व समान हुन्छ।
संसदीय राजनीतिलाई प्रमुख मान्ने राजनीतिक दलहरुले यही ब्यबस्था अन्तरगत हुने गठबन्धन र तालमेलको संस्कृतिको खिल्ली उदाएको देखिन्छ। तालमेल र गठबन्धन संस्कृतिमा कोही अग्लो, कोही होचो अनि कोही बलियो अनि कोही कमजोर त्यस्तै कोही ठुलो र कोही सानो भन्ने हुदैन। त्यहाँ त एकले अर्काको अस्तित्व स्वीकार गरिएको हुन्छ र एकले अर्काको सम्मान गरिन्छ पनि। त्यहाँ सबैको समान अस्तित्व हुन्छ। जब एकले आफ्नो अस्तित्व कम भाको अनुभूति गर्छ, तब बिद्रोह शुरु हुन्छ र आफ्नो अस्तित्व रक्षाका लागि गठबन्धन अनि तालमेल छाडिदिन्छ।
अहिले पोखरा महानगर पालिकाको चुनाबमा सत्तारुढ गठबन्धनले आफ्नो उद्देश्य भुलेर पार्टीगत स्वार्थ हेरिरहेका छन्। उनीहरुले कुन स्वार्थमा यस गठबन्धन बनेको हो भन्ने कुरा पनि भुलिरहेका छन्। संबिधान मास्ने कार्यमा उत्प्रेरित केपी शर्मा ओली प्रवृत्तिको परास्त गरी गणतन्त्र र संबिधान रक्षाका लागि अहिलेको गठबन्धन बनेको कुरा अहिले नेताहरुले सम्झिएकै छैनन्। अब हामी पद र प्रतिष्ठाको लड्ने छैनौं भनेर जनतामाझ गरेको वाचा पनि उनीहरुले भुलेका छन्।
हिजो जनतासंग गरेका वाचा र गठबन्धन गरिनुको प्रमुख कारणलाइ स्मृतिमा राख्ने हो भने अहिले कुन महानगर कसले लिने कुन पदमा को उठ्ने भन्ने बारेमा छलफल गरेर गठबन्धन फुटाउने सम्मको सोंच आउने थिएन कि ?