नेपाल प्रहरीका हाकिमहरुलाई के मतलब छ र ? आखिर दुःख पीडा हुने त तल्लो तहका जवानहरुलाई नै हो । हाकिमहरु मोज मस्तीमा रमाउँछन् तर जवान र हवल्दार तहका प्रहरीहरु सधै जसो दुःख गरेरै जिउनुपर्छ । उनीहरुले खाने र लाउने सामानहरुमा यति धेरै चलखेल हुँदो रहेछ कि बेईमान गर्ने ठेकेदारहरुलाई तह लगाउन सक्दैनन् प्रहरीका हाकिमहरुले ।
अहिले नेपाल प्रहरीको भण्डार शाखामा प्रहरीहरुका लागि चाहिने सामानहरु यत्रतत्र छरिएर रहेको सूचना बाहिर आएको छ । यस्ता सामानहरु गुणस्तरहीन रहेको पाईएको छ । चलखेल गरेर ठेक्का पारेका ठेकेदारकै कारणले यस्ता सामानहरु अलपत्र परेको बताईएको छ । प्रहरीले ठेकेदारलाई बोलाएर गुणस्तर फेल भएका सामान फिर्ता पठाउन सकेको छैन । भण्डारमा गुणस्तर फेल भएका तीन हजार थान स्लीपीङ ब्याग, ५ हजार थान स्वेटर, ३० हजार जोर डीएमएस बुट गुणस्तरहीन भएकाले फिर्ता गर्नुपर्नेमा भण्डार शाखामै छरपष्ट अवस्थामा छन् ।
जस्तो सुकै अपराधीहरुलाई समेत तुरुन्त कारवाही गर्न सक्ने र मुद्दा चलाउन सक्ने प्रहरी अधिकारीहरुले ठग ठेकेदारहरुलाई भने तह लगाउन सकेको छैन ।
प्रहरी संगठन भित्र गुणस्तरहीन सामान सप्लाई गर्ने व्यापारीहरुमा सामसुङ मोबाइलका व्यापारी दीपक मल्होत्रा, डलर र हुण्डीका कारोबारी भनेर चिनिएका विमल पोद्दार, दया शर्मा र टपेन्द्र बीसी हुन् ।
स्रोतका अनुसार दीपक मल्होत्रा, पूर्व डीएसपी सुरेन्द्रबहादुर सिंह, पूर्वएआइजी नवराज ढकाल, अवैध हुन्डी र डलरका कारोबारी विमल पोद्दार, दया शर्मालगायतका संचालक रहेको आइएमएस ग्रुपले ३० हजार जोर डीएमएस जुत्ताको ठेक्का पाएको थियो । भारतमा गुणस्तर परीक्षणमा पठाउने क्रममा उक्त जुत्ता पनि फेल भएको थियो । २०७३ असारमा बुट बुझाएको बुट गुणस्तर फेल हुँदा पनि अहिलेसम्म फिर्ता लगेको छैन । अरु ब्यापारिक फर्मलाई प्रहरीले एक पटकमात्र समय दिने गरे पनि सुनतस्करीमा मुछिएका दीपक मलहोत्राको आइएमएस गु्रपलाई भने आईजीपी उपेन्द्रकान्त अर्यालले २ पटक सामान बुझाउन म्याद दिएका थिए । त्यो ३० हजार जोर जुत्ता पनि फिर्ता लगेको छैन । मल्होत्राले सेटिङ गरेर जुत्ताको टेण्डर पारेका थिए ।
त्यस्तै प्रहरी संगठन भित्र तीन वर्षअघिको बजेट बाट खरिद गरिएको स्लीपीङ ब्याग समेत गुणस्तरहीन भएको पाईएको छ । तेजसम नामक फर्मले स्लीपीङ ब्यागको टेण्डर पाएको थियो । अरु सामानको समेत टेण्डर पाएको तेजसमको स्लीपीङ ब्याग गुणस्तर अनुसार नभएकाले सामान नलिने पत्र प्रहरीले दिइसकेको छ । तर ठेकेदार टपेन्द्र बीसी सामान फिर्ता लैजानु पर्छ भनेर भागेका छन् ।
तेजसमका संचालक टोपेन्द्र बीसीले ७ महिना भइसक्दा पनि उक्त सामान फिर्ता लगेका छैनन् । बीसी नेपाल टेलिकमका कर्मचारी हुन् । उनले आफ्ना नातेदारको नाममा फर्म दर्ता गरेका थिए ।
उता मुनीलाल मागीलाल नामक फर्मले २०७३ असारमा बुझाएको ५ हजार थान स्वीटरको पनि गुणस्तर फेल भएको भेटिएको छ । उक्त स्वीटर फिर्ता लैजान बारम्बार आग्रह गर्दा पनि कम्पनीका सञ्चालक पिताम्बर मूल्काले लगेका छैनन् ।
यसरी प्रहरी संगठन भित्र बारम्बार किन हिनामिना गर्न खोजिंदैछ भन्ने कुराको जवाफ कसैले दिंदैनन् । प्रहरी संगठन भित्र नेतृत्व कमजोर हुँदा त्यसको फाइदा व्यापारीहरुले उठाउन खोजेका हुन् । तर गुणस्तरहीन सामान सप्लाई गर्न दाउ कुरेर बसेका व्यापारीहरुलाई कसले गर्ने हो कारबाही सबै जना मुकदर्शक बनेर बसेका छन् ।