नेपाललाई नहेप्न भारत र इयूलाई प्रधानमन्त्री ओलीको चेतावनी

नेपाललाई नहेप्न भारत र इयूलाई प्रधानमन्त्री ओलीको चेतावनी


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १८ चैत्र २०७२
  • 13.3K
    Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई भुपरिवेष्ठित तथा सानो मुलुक भनेर नहेप्न भारत र युरोपेली मुलुकहरुलाई चेतावनी दिएका छन् । ब्रसेल्समा सम्पन्न युरोपियन युनियन र भारतको शिखर सम्मेलनपछि जारी संयुक्त वक्तव्यमा नेपाल घुसाएपछि ओली आक्रोसित बनेका हुन् । उनले यो नेपालको सार्वभौमसत्तामाथि हस्तक्षेप भएको बताएका छन् ।

बिहीबार बसेको एमाले संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले भने, ‘अनावयक ढंगले हाम्रो सार्वभौमसत्ता, संविधानसभाको संविधान बनाउने हक र नेपालले जनताले आफ्नो निर्णय गर्न पाउने आत्मनिर्णयलाई अबमुल्यांन गर्दै उपदेशको भाषामा नेपालले छिट्टै संवैधानिक समस्या समाधान गरोस् भनेको छ । कहाँ छ नेपालमा संवैधानिक समस्या ?’

अलिकति भूइचालो आयो, सानो छ भनेर नहेप्न चेतावनी दिँदै उनले अघि, ‘युरोपियन युनियन र भारतले आफ्नो आफ्नो कुरा गरे हुन्छ नि । नेपालका सम्वन्धमा के हेपाइ हो ?’ ओलीले नेपालको संविधानका बारेमा कला प्रदर्शनीका बारेमा टिप्पणी गरेजसरी वक्तव्यबाजी नगर्न चेतावनी दिएका छन् । आफूलाई लोकतान्त्रिक भन्ने देशहरुले नेपाली जनताको सार्वभौमिकतालाई उपेक्षा गरी उपदेश दिन नसुहाउने उनले बताए ।

संविधान मन नपराएको व्यक्तिलाई भेटेर सिंगो मुलुकको सार्वभौमिकतालाई नजरअन्दाज गर्नु अन्तराष्ट्रिय कानून र संयुक्त राष्टसंघको मान्यता विपरित भएको उनले बताए ।

के हो संवैधानिक समस्या भनेको भन्दै उनले भने, ‘ विभिन्न मान्छेको घरमा गएर तपाईलाई चित्त  बुझेको छ भनेर सोध्ने, मलाई चित्त बुझेको छैन हजुर भनेपछि सिंङ्गै राष्ट्रलाई त्यसको सर्वभौमसत्तालाई अण्डरमाइन्ड हुने गरी वक्तव्यबाजी गर्ने ?’

नेपाल सार्वभौमसत्ता सम्पन्न देश भएको र सवैधानिक विधि र लोकतान्त्रिक संस्थाबाट संविधान निर्माण गरेको भन्दै प्रधानमन्त्री ओलीले नेपालको सार्वभौमसत्तालाई अवमूल्यन गर्ने व्यवहार नगर्न चेतावनी दिएका छन् ।

प्रतिक्रिया