स्विट्जरल्याण्डका एक बैज्ञानिकले बिना पिडा एक मिनेटमा नै मान्छेलाई मार्न सक्ने एक ‘मृत्यु मेशिन’ तयार गरेका छन्। उनले बनाएको उक्त मेशिनलाई स्विट्जरल्याण्ड सरकारले मान्यता पनि दिएको छ।
मेशिन उत्पादक कम्पनी एक्जिट इन्टरनेशनल नामको संस्थाका निर्देशक डा. फिलिप निट्स्केले यो मृत्युको मेसिन बनाएका हुन् । कम्पनीको दावीअनुसार यो मेसिनले कुनै पनि व्यक्तिलाई एकमिनेटभित्र कुनै पीडाबिना मृत्यु दिन सक्छ । यो मेसिन कफिनको आकारको छ । यो मेसिनको माध्यमबाट अक्सिजन लेभल अत्याधिक कम गरिन्छ जसका कारण एक मिनेटभित्र मृत्यु हुन्छ ।
स्विट्जरल्याण्डमा इच्छा मृत्युले कानुनी मान्यता पाइसकेको छ । एक्जिट इन्टरनेशनलको दावी अनुसार गत वर्ष स्विट्जरल्याण्डमा एकहजार तीनसय जनाले अरुको सहयोगमा आत्महत्या गरेका थिए । बिरामी भएर हिँडडुल गर्न पनि नसक्ने मानिसहरुलाई ध्यानमा लिएर यस्तो मेशिन बनेको निरमाता कमपनीको दाबी छ।
ब्रिटिस वेबसाइट इन्डिपेन्डेन्टको रिपोर्टअनुसार यो मेसिनलाई भित्रबाट पनि अपरेट गर्न सकिन्छ । बिरामी व्यक्तिले मेसिनभित्रबाट आँखा झिम्क्याएर पनि यो मेसिन चलाउन सक्छ । यो मेसिनमा बायोडिग्रेडेबल क्याप्सुल जडान गरिएको छ जसलाई कफिनजस्तै प्रयोग गर्न सकिन्छ ।
यो मेसिनलाई सार्को नाम दिइएको छ । अहिले यसको प्रोटोटाइप पेश गरिएको छ । डा. निट्स्केले भने ‘यति सबै ठिक रह्यो भने अर्को वर्षसम्म यो मेसिन उपलब्ध हुनेछ । यो अहिलेसम्मको सबैभन्दा महंगो प्रोजेक्ट हो । तर, हामी यसको धेरै नजिक छौं ।’
यद्यपि यस्तो मेसिन बनाएकोमा डा. निट्स्केको आलोचना पनि भइरहेको छ । केही मानिसहरुले मेसिन प्रयोग गर्ने तरिकामाथि प्रश्न उठाएका छन् । उनीहरुले यसलाई खतरनाक ग्यास च्याम्बर भनेका छन् । केही मानिसहरुले यो मेसिनले मानिसहरुलाई आत्महत्याको लागि उक्साउने दावी पनि गरेका छन् । अहिलेलाई २ वटा मेसिन प्रोटोटाइप तयार छन् । तेस्रो मेसिनको निर्माण पनि भइरहेको छ । अर्को वर्षसम्म यो तयार हुने सम्भावना छ ।