आफु मलेशिया आउँदा लुटिएको भन्दै नेपाली नागरिकसंग करोडौं रुपियाँ ठगी गरेको आरोपमा प्रहरीले आफुलाई प्लास्टिक सर्जन डाक्टर बेन्जामिन फ्र्यांकलिन बताउने पोखराका एक व्यक्तिसहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पोखरा माहनागरपालिका वडा नम्बर १० बस्ने ४४ बर्ष का राजेन्द्र भण्डारी र काठमाण्डौ महानगरपालिका वडा नम्बर १३ ताहाचल बस्ने २८ वर्षीय रोजन भुजेल रहेका छन्।
उनीहरुलाई महानगरीय प्रहरी परिसर, काठमाण्डौबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। रोजन भुजेललाई कालिमाटी तथा राजेन्द्र भण्डारीलाई एयरपोर्टबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनीहरुले फेसबुकमा आफूलाई विदेशी प्लास्टिक सर्जन डाक्टर बेन्जामिन फ्र्यांकलिन भनेर चिनाउने गरेको र मलेसियामा लुटिएको बहाना गर्दै दोब्बर रकम फिर्ता गर्ने प्रलोभन देखाएर एक करोड २२ लाख रुपैयाँ ठगी गरेको आरोप प्रहरीले उनीहरुलाई लगाएको छ।
महाशाखाका अनुसार एक हप्ताको कोर्सको लागि मलेसिया आएकोमा आफूसँग भएको सबै रकम लुटिएको भनि विभिन्न दुःख पीडा पोखेर रकम पठाई सहयोग गर्न भनेको खुलेको छ।
आफू बेलायत पुगेपछी दोब्बर रकम फिर्ता दिन्छु भनेर प्रलोभन देखाई राजेन्द्र भण्डारी र रोजन भुजेल समेतको बैक खाता नम्बरहरू प्रयोग गरी बिभिन्न मितिमा रकम ठगी गरेको खुलेको महाशाखाले जनाएको छ।
राजेन्द्र भण्डारीको नामको गरिमा विकाश बैंकको खातामा ७८ लाख र रोशन भुजेलको नामको नबिल बैकको खातामा ९ लाख ५० हजार समेत गरी एक करोड २२ लाख रकम पीडितलाई पठाउन लगाई ठगी गरेको खुलेको महाशाखाले जानकारी दिएको छ।
उनीहरूलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको छ।