भारत र पाकिस्तानबीच भएको टि–२० विश्वकप क्रिकेटमा पाकिस्तानको जितमा खुसी मनाउने भारतको राजस्थानकी एक शिक्षिकालाई जागिरबाट निकालेर उनीविरुद्ध प्रहरीमा उजुरी दर्ता गरिएको छ ।
राजस्थानको उदयपुरको एक निजी विद्यालयकी शिक्षिकाले सामाजिक सञ्जालमा पाकिस्तानी खेलाडीको तस्वीर राखेर ‘हामीले जित्यौँ’ लेखेकी थिइन् ।
विद्यालयका कुनै एक अभिभावकले शिक्षिकाको यो स्टाटस देखेपछि उनलाई म्यासेज गरेर सोधे- के तपाईँ पाकिस्तानको समर्थन गर्नुहुन्छ ? यो प्रश्नको जवाफ शिक्षिकाले ‘हो’ भनेर दिइन् ।
यहीँबाट विवाद सुरु भयो । स्थानीय एक पत्रकारले नाम नखुलाउने शर्तमा भने ‘शिक्षिका नफिसा अटारीको यो च्याट र उनको स्टाटसको स्क्रिनशट एक स्थानीय च्यानललाई उपलब्ध गराइयो र त्यसपछि यो विषय चर्चामा आयो ।
त्यसपछि विद्यालयले पत्र जारी गरेर नफिसालाई जागिरबाट निकाल्यो । ‘निरजा मोदी विद्यालयकी अध्यापिका नफिसा अटारीलाई विद्यालय सञ्चालक समितिको बैठक बसेर जागिरबाट हटाइएको छ’, विद्यालयले जारी गरेको पत्रमा उल्लेख छ ।
यसबारे विद्यालयका निर्देशक महेन्द्र सोजतियाले बीबीसीसँग भनेका छन्, ‘सामाजिक सञ्जालबाट यसबारे जानकारी पाइयो । मोदी स्कुल यस्ता कुरालाई सहन सक्दैन ।’
उदयपुरको अम्बामाता थानाका प्रहरी अधिकारी दलपत सिंह राठौडले यस विषयमा मंगलबार उजुरी दर्दा भएको जानकारी दिँदै घटनाको अनुसन्धान गरिरहेको बताए ।