बागलुङमा एकैदिन दुई जनाको मृत्यु, एक बालक बेपत्ता

बागलुङमा एकैदिन दुई जनाको मृत्यु, एक बालक बेपत्ता


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ७ कार्तिक २०७८
  • 13.8K
    Shares

ठेउलेखोला

जैमिनीको ठेउलेखोलामा एकजना पुरुषको शव फेला परेको छ । शनिबार बागलुङको जैमिनी नगरपालिका ४ सर्कुवा स्थित सिस्नेराको तल ठेउलेखोलामा एक पुरुषको शव फेला परेको हो ।

ठेउले खोलामा फेला परेको शव जैमिनी नगरपालिका ४ सिस्नेराका अन्दाजी ४५ बर्षीय प्रेम बहादुर नेपाली भनिने दलविर सार्कीको रहेको प्रहरी चौकी कुश्मिसेराले जानकारी दिएको छ । शवको घटनास्थलमा मुचुल्का गरिएको र पोष्टमार्टमका लागि बागलुङ पठाउने तयारी भैरहेको प्रहरीले जनाएको छ ।

मृतक सार्की कात्तिक ४ गतेदेखि हराइरहेको पारिवारिक श्रोतले जानकारी दिएको छ । घटनाबारे अनुसन्धान भैरहेको प्रहरी चौकी कुश्मिसेराका हवलदार नवराज रिमालले जानकारी दिए  ।

प्रहरी चौकी ढोरपाटनले दिएको जानकारी अनुसार, बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका – ७ बोबाङस्थित भुजीखोलाले बगाउँदा ढोरपाटन- ७ धाराबोटका दिलबहादुर विकका पाँच वर्षीय छोरा जीवन शनिबार साँझदेखि बेपत्ता छन्। उनी साथीसँग खेल्ने क्रममा भुजीखोलामा रहेको साघुँबाट खसेका स्थानीयवासीले बताएका छन् ।

नमूना बाल विकास धारकोटमा अध्यननरत विक दिउँसो खेल्दाखेल्दै खोलामा पुगेका थिए । बेपत्ता विकको खोजीका लागि प्रहरी चौकी बुर्तिबाङ बागलुङबाट पाँच जनाको टोली खटिएको प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए । नजिकै रहेको पुलको विकल्पमा अस्थायीरूपमा बनाइएको साँघुमा उनीहरू पुगेको प्रहरी चौकी ढोरपाटनले जनाएको छ ।

यस्तै जैमिनी २ दमेकमा झुण्डिएको अवस्थामा एक जनाको शव फेला परेको छ । शनिबार नै जैमिनी २ पोखराचौरमा भद्र बहादुर भनिने प्रेम बहादुर परियारको झुण्डिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरी अहिले घटनास्थलतर्फ जाँदै गरेको र थप विवरण प्राप्त नभएको प्रहरी चौकी कुश्मिसेराले जानकारी दिएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार