हिन्दु नारीहरुले महान पर्व हरितालिका तीज आज धुमधामका साथ मनाउँदै छ । हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन निराहार व्रत बसी महादेवको पूजा आराधना गरी यो पर्व मनाइन्छ। आफू जन्मेको घर, माता,पिता, भाइबहिनी, इष्टमित्र र समाज चटक्क छोडी पराईघरमा जीवन बिताउँदा आउने माइतिको यादलाई कमी गर्ने एउटा अवसरको रूपमा तीज पर्वको गहन महत्त्व रहेको छ।
तीजमा महिलाहरूलाई मीठा मीठा भोजनका परिकारहरू खुवाइन्छ, नयाँ लुगा कपडा दिइन्छ। महिलाहरूलाई पराइघरको विभिन्न जिम्मेवारी, तनाव, साथै माइतीको सम्झनाको खाडललाई कम गर्न यो पर्वको ठूलो भूमिका रहेको छ। हिजो दर खाएपछि औपचारिक रुपमा सुरु भएको तीज पर्व पर्सि ऋषि पञ्चमीसम्म मनाइन्छ ।
विगत वर्षमा धुमधामका साथ मनाइने तीजलाई यो वर्ष पनि कोरोना संक्रमण महामारीले प्रभाव पारेको छ। तर पोहोर भन्दा केहि चहलपहल बढेको देखिन्छ । कोरोना संक्रमण कम हुँदै गएको र धेरै ठाउँमा निषेधाज्ञा पनि हटेको कारण पोहोरको तुलनामा तीजको रमझम धेरै छ ।
सत्ययुगमा हिमालय पुत्री पार्वतीले आजैको दिन निराहार व्रत बसी महादेव पति पाउने वरदान पाएकीले आजको दिनमा व्रत बस्दा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ।
महादेव स्वामी पाउने पार्वतीको इच्छा विपरीत पिता हिमालयले उनको विवाह विष्णुसँग गरिदिन खोजेपछि सखीहरुलाई समस्या सुनाउँदा उनलाई हरण गरी लुकाएर राखेको धर्मशास्त्रमा उल्लेख पाइन्छ। सखीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी भाद्र शुक्ल तृतीयाको दिन महादेवलाई प्राप्त गरेको र त्यही समयदेखि हरितालिका तीजको व्रतको प्रचलन शुरु भएको मान्यता छ।
यसैबीच यसवर्ष पनि तीज पर्वका अवसरमा पशुपतिनाथ मन्दिर नखुल्ने भएको छ । पशुपतिनाथ मन्दिर वैशाख पहिलो हप्तादेखि नै बन्द गरिएको छ । तर देशका साना साना मठ-मन्दिरमा भने भक्तजनहरु पुगेका छन् ।
नारीहरुले तीजमा नाचगान गरेर रामरमाइलो पनि गर्छन्। पछिल्लो समय नाच्दा, गाउदा कुनै पनि कुरामा मौलीकता समाबेश गरेको नपाईदा पुर्खौ पुर्खादेखीको सस्कृती साच्चीकै गुम्दै जाने संकेत देखीएको भन्दै बुढापाकाहरुले चिन्ता व्यक्त गर्न थालेका छन ।
पछिल्लो समय मौलीक सस्कृती धरासायी बन्दै गएको गुनासो गर्ने बृद्धबृद्धाहरु थुप्रै छन । तर बिडम्बना पछिल्लो समय आधुनिक जमाना भित्रीएसंगै मौलीक सस्कृती भने हराउदै गएको छ ।