लामो समयदेखि वडा सचिव नपाएको आक्रोशमा पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटका जनप्रतिनिधि र स्थानीयवासिन्दाले कुश्मा नगरपालिकामा तालाबन्दी गरेका छन् ।
नगरप्रमुख, उपप्रमुख र प्रमुख प्रसासकीय अधिकृतलाई धेरै पटक सचिवको माग गरे पनि नौ महिनासम्म सचिव नखटाएको भन्दै वडाका जनप्रतिनिधिसहित आएका खुर्कोटवासीले तालाबन्दी गरेका हुन् ।
उनीहरुले वडा कार्यालयमा समेत ताला लगाएका छन् । वडाध्यक्ष यदुनाथ शर्मा बाँस्तोलाको नेतृत्वमा आएका स्थानीयले कुश्मा नगरपालिकाको मूल गेटमा ताला लगाएका हुन् ।
वडा सचिव नहुँदा दैनिक प्रशासनिक कामकाजमा समस्या भएको वडाध्यक्ष यदुनाथ शर्मा बास्तोलाले गुनासो गरे। गत कात्तिक १४ देखि स्वास्थ्य चौकीका इञ्चार्जलाई काजमा खटाएर अहिलेसम्म वडा सचिव नपठाएको भन्दै नगरपालिकाको ध्यानाकर्षण गराउन तालाबन्दी गर्नुपरेको वडाध्यक्ष बाँस्तोलाले बताए ।
नगरपालिकाले काजमा खटाएका स्वास्थ्य चौकीका इञ्चार्ज टेकनाथ सुवेदीले वडा र स्वास्थ्य चौकीको काम हेर्न नभ्याएको बताउँदै आएका छन्।
कुश्मा नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद तिवारीले वडा कार्यलयमा कार्यरत सचिव सञ्जु शर्मा कोभिड सङ्क्रमित भएर कार्यालयमा आउन नपाएकाले यो अवस्था सिर्जना भएको बताए । उनले कार्यालयले खटाएका सचिव निको भएपछि हाजिर हुने भएकाले स्थानीयलाई आक्रोशित नबन्न अनुरोध गरे।