यतिबेला हरेकको मोबाइल मेसेन्जर, भाइबरमा जापानी कार तथा मोटरसाइकल निर्माता होन्डाको ७० औं वार्सिकोत्सवको शुभकामनासहितको म्यासेज लिङ्क फैलिइरहेको छ । त्यस लिङ्कमा क्लिक गरेपछि स्कुटर उपहार जितेको सन्देशसहित केही नियमहरू राखिएको छ ।
उक्त लिङ्कसहितको म्यासेज पाँच ओटा ग्रुप अथवा कम्तिमा २० जनालाई पठाउनुपर्ने र आफ्नो ठेगाना दर्ता गराउनुपर्ने शर्त पनि राखिएको छ । त्यसपछि ५ देखि ७ दिनभित्रमा स्कुटर डेलिभर गरिने उल्लेख गरिएको छ ।
अधिकांशले सित्तैमा स्कुटर पाउने आशामा लिंकमा मागिएका सबै सुचाना उपलब्ध गराएका छन् पनि। तर तपाईं भने यी कुनै पनि नियम पालना नगर्नुहोस्। यस्ता स्पाम म्यासेजमा प्रवेश गर्दा भविष्यमा अप्ठ्यारो पर्न सक्ने भएकोले तपाईं भने सुरक्षित रहनुहोला । परिचित म्यासेन्जर साथीहरूले पठाउनु भएको छ भने उहाँहरूलाई पनि सचेत गराउनुहोला । अपरिचितबाट म्यासेज रिक्वेस्ट आएको छ भने सोझै डिलिट गर्नुहोला ।
अझ म्यासेन्जरमा आएको लिङ्क पनि नखोल्नुहोला । किनकि तपाईंलाई झुक्याएर तपाईंसँग सम्बन्धित सूचना सङ्कलन गर्न जारी गरिएको ‘स्पाम’ म्यासेज हो । यस्ता म्यासेजहरु हामीले सोचेजस्तो एकछिन झुक्याउन वा दुःख दिन मात्रै पठाइँदैन । बरु त्यस्ता म्यासेजहरु दूरगामी प्रयोजनका लागि पठाइएका हुन्छन् । तपाइका बैंक खाता, विवरण, सामाजिक संजालका पासवोर्ड पनि हात परेर तपाइलाई निर्धन बनाउन सक्छन।
यस्ता म्यासेजले तत्कालै हानी त नपुर्याउँ सक्छन्, तर लिङ्कमा प्रवेश गरेपछि स्पामरहरू तपाईंसँग सम्बन्धित सूचनामा पहुँच राख्न सक्छन् । कतिपय अवस्थामा फेसबुक लगायत सामाजिक सञ्जालमा अनधिकृत पहुँचको माध्यम पनि बन्न सक्छन् यस्ता म्यासेज ।
त्यसो त म्यासेजमा उल्लेख गरिएजस्तो होन्डाको ७० औं वार्षिकोत्सव अहिले होइन । सन् २०१८ सेप्टेम्बर २४ मै होन्डा स्थापनाको ७० वर्ष पूरा भैसकेको छ ।
७० औं वर्ष पूरा भएको तीन वर्षपछि कुनै कम्पनीले यसरी उपहार सार्वजनिक गर्ने उदाहरण पनि छैनन् । होन्डा जस्तै यसअघि अमेजनको वार्षिकोत्सव भन्दै यस्तै लिङ्क व्हाट्सएपमा समेत देखिएको थियो ।
विजेताले ह्वावेको मोबाइल पाउने सन्देशसहित होन्डाको जस्तै नियमहरू यसमा राखिएको थियो । तर व्हाट्सएपको प्रयोगकर्ता म्यासेन्जरको तुलनामा धेरै नभएकोले यसले त्यति धेरै चर्चा पाएन ।
नेपालमा म्यासेन्जर प्रयोगकर्ताको संख्या बढी भएकोले होन्डाको म्यासेन्ज लिङ्क सजिलै अनि छिटो फैलिन सम्भव भयो । त्यहाँ राखिएका नियम अथवा शर्तले पनि यसलाई फैलाउन सहयोग पुर्यायो ।