बुधबार दिउँसो ४ बजेको समयमा सुजिता भण्डारी मृत्यु प्रकरणलाई लिएर खैरहनी नगरपालिका वडा नं १ स्थित साइचोकमा आगजनी तथा ढुङ्गामुढा गरी राष्ट्रिय राजमार्गमा अवरोध सृजना गरेको आरोपमा प्रहरीले दुई युवालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा खैरहनी नगरपालिका वडा नं २ काशीगाउँका ३० वर्षीय सुरज डल्लाकोटी र खैरहनी नगरपालिका वडा नं १ साइचोक निवासी १८ वर्षीय अनिष बस्नेत रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार निज युवाहरुले राजमार्गमा सवारीसाधनहरुलाई धाकधम्की दिई सवारी आवागमनमा अवरोध गरेको र प्रहरी टोलीमाथिसमेत ढुङ्गामुढा गरी कर्तव्य पालनामा बाधा पुर्याएकोले पक्राउ गरिएको हो ।
निज युवाहरुलाई अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको प्रनाउ थापाले जानकारी दिए ।