कमरेड बिप्लव! प्राथमिकतामा पार्टीभित्रका सुराकी कि पार्टीविरुद्धका सुराकी ? कि राष्ट्रघाती र जनविरोधी ?

कमरेड बिप्लव! प्राथमिकतामा पार्टीभित्रका सुराकी कि पार्टीविरुद्धका सुराकी ? कि राष्ट्रघाती र जनविरोधी ?


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २५ मंसिर २०७७
  • 30K
    Shares

ओम हमाल

बिद्रोही ने.क.पा.ले मंसीर ८ गते पार्टी पुनर्गठनको सातौँ वार्षिकी मनाइरहदा त्यस पार्टीले ३७ जना रास्ट्रघाती, जनघाती र जनबिरोधीको सफाया गर्दैछ भन्ने खबरले मलाई केही उत्साहित गरेको थियो। त्यस्ता रास्ट्रघाती, जनघाती र जनबिरोधीको सफाया गर्दा बिद्रोही ने.क.पा.ले पक्कै पनि देशवासी उत्पीडित वर्गको ब्यापक सहयोग र समर्थन पाउने ठुलो आशा र बिस्वास मलाई थियो।
तर मोरङमा भएको शिक्षक हत्याले बिद्रोही ने.क.पा. कतै प्रतिशोध साँध्ने दौडमा लागेको त हैन भन्ने महशुश भएको छ। के एउटा शिक्षक बिद्रोही ने.क.पा.को ब्युरोका पुरै नेतृत्व सखाप पार्न सक्षम हुन्छ ? के एउटा शिक्षकले मात्र बिद्रोही ने.क.पा.को ब्युरो सखाप हुने गरी सुराकी गरेको होला ? कतै पार्टीभित्र रहेर नेतृत्व गरिरहेका तर पार्टीको ध्यान नपुगेका पार्टीभित्रै अड्डा जमाएर बसेका सुराकी अनि पार्टीभित्रैको नेतृत्वको कमजोरी र असावधानीले पो ब्युरो सखाप हुने स्थितिमा पुगेको हो कि ? बिद्रोही ने.क.पा.ले एक पटक निधार खुम्च्याएर सोचोस् र सुक्ष्म छानबिन गरोस। कतै पार्टी नेतृत्वमा रहेका सरकारी सुराकीको चलखेलपूर्ण गतिविधिले काम गरिरहेको त छैन ? सुक्षम अनुसन्धान गरी सम्बन्धित पक्षले जनतामाझ सत्यतथ्य सार्वजनिक गरोस। एउटा बिज्ञप्ति निकालेर सुराकी गरेकाकारण प्रतिकारमा मरेको भन्दैमा बिद्रोही ने,क,पा.ले उन्मुक्ति पाउने अवस्था छैन र जुन जोगी आए पनि कानै चिरेका भनेर जनताले नाक खुम्च्याउन छाड्ने छैनन्। यस्तो अवस्थामा जनसमर्थन हैन , जनप्रतिबाद हुनसक्ने कुरालाई सम्बन्धित पक्षले मनन गरोस।
हो बिद्रोही ने.क.पा.ले सुराकीलाई सफाया अभियान चलाएकै हो भने पार्टीभित्र छिरेर नेतृत्व तहमा पुगेका सुराकीहरूलाई पहिचान गरी कारबाही गरेर देखाओस। त्यतिबेला जनताले बिद्रोही ने.क.पा.लाई विश्वास गर्ने छन्। पक्कै पनि जनसमर्थन बढ्नेछ। अझ त्यो भन्दा माथि उठेर राष्ट्रघाती, राष्ट्रद्रोही र जनबिरोधीलाई कारबाही गरेमा जनताको मात्र हैन संसदीय ब्यबस्था समर्थन गर्ने नेता-कार्यकर्ता समेतको अपार समर्थन रहने र पाउनेछ, बिद्रोही ने.क.पा.ले।
बिद्रोही ने.क.पा.ले आफ्नै नेतृत्वमा रहेका सरकारी सुराकीको पहिचान गर्न सकिरहेको छैन। तिनै नेतृत्वमा रहेका सरकारी सुराकीको प्रतिवेदनका आधारमा निहत्था र निर्दोष मानिसहरुलाई सुराकीको आरोप लगाइएको त छैन ? के तिनै सरकारी सुराकीको प्रतिवेदनका आधारमा निहत्था, निर्दोष मानिसको सुराकीको आरोप लगाउदै हत्या शृंखला शुरु भएको त हैन ? एकचोटी सम्बन्धित पक्षले बिचार गरोस।
सुराकी ! सुराकी! सुराकी! को हो सुराकी ? किन गरिरहेका छन् सुराकी ? कसरी भैरहेको छ सुराकी ? साँच्चिकै क्रान्ति अघि बढाउने हो भने बिद्रोही ने.क.पा.ले पार्टीभित्र र बाहिर रहेका सुराकीको पहिचान गर्नु पर्ने बेला आएको छ।
एक जना शिक्षकले पार्टीको मेची-कोशी ब्युरो नै सखाप पारुन्जेल पार्टीका जनसत्ता, जनसेना र जनअदालत के हेरेर बसिरहेका थिए ? सुराकीको आरोप लागेका शिक्षकलाई पार्तीभित्रिका मान्छेले सुराक नदिएको भए त् उनले पक्कै सुराक पाएका थिएनन होला। सुराकीको आरोप लगाई ती शिक्षकको हत्या गरेर मात्र पार्टी उम्किन मिल्दैन। ती सुराकी भनिएका शिक्षकलाई पार्टीभित्रबाट सुराक दिने व्यक्तिको पनि खोजी गरिनुपर्छ।
बिद्रोही ने.क.पा.ले पार्टीको मेची-कोशी ब्युरो अन्तरगतका नेता तथा कार्यकर्तालाई गिरफ्तार गराएको भनेर एक जना शिक्षकको हत्या गरेको स्वीकार गरेको छ। तर बिद्रोही ने.क.पा. महासचिव विप्लवका दाजु बीरजंग सहभागी राप्ती ब्युरोको बैठकमा प्रहरीले हस्तक्षेप गरेर कमाण्ड इन्चार्ज समेत रहेका महासचिव विप्लवका दाजु बीरजंग सहित करीब तीन दर्जन नेता तथा कार्यकर्ता गिरफ्तार भए। त्यस गिरफ्तारीमा पार्टीभित्रकै नेता कार्यकर्ताले सुराकी गरेको भनिएको थियो।
कमाण्ड स्तरको बैठक सकिएपछि पार्टीका केन्द्रीय सचिवालय सदस्य एबम तात्कालिन मध्यकमाण्ड इन्चार्ज हेमन्त प्रकाश ओलीसहित दर्जन नेता तथा कार्यकर्ता गिरफ्तार भए। त्यति बेला उनीसंग गिरफ्तार अन्य नेताहरुले पार्टी परित्याग गरी आत्मसमर्पण गरे। उनीहरुको गिराफ्तारीमा कसले सुराकी गरेको थियो भन्ने बारेमा पार्टी पक्कै प्रष्ट होला।
सर्लाहीका चर्चित जनप्रिय नेता कुमार पौडेलको हत्या बारेमा सरकार पक्षको प्रतिबेदन त सार्वजनिक भयो। तर उनलाई गिरफ्तार गराएर हत्या गराउने पार्टीभित्रको सुराकीका बारेमा ता पार्टीले अहिलेसम्म मुख खोले जस्तो त् लागेको छैन। कि प्रहरीले जादुको छडी प्रयोग गरेर कुमार पौडेलको अवस्था र लोकेशन पत्ता लगाए ?
बिद्रोही ने.क.पा.ले पार्टीविरुद्ध सुराकी गर्ने व्यक्तिहरुको पहिचान गरिरहदा पार्टीभित्रै छिरेर नेतृत्वमा पुगेर सरकारी सुराकीको काम गरिरहेका व्यक्तिहरुको खोजि गरी सार्वजनिक नगर्ने हो भने त्यस पार्टीले जुनसुकै बेला ठुलो क्षति नब्यहोर्ला भन्न सकिन्न।
अरु तिरको त म धेरै कुरा बुझ्दिन। बिशेष गरी बिद्रोही ने.क.पा.को नेतृत्व कस्तो छ भनेर म यहाँ केही दृष्टान्तहरु प्रस्तुत गर्न चाहन्छु।
गत संसदीय चुनाबमा बिद्रोही ने.क.पा.को कास्की जिल्ला पार्टी सदस्यले जिल्ला पार्टी र बिद्यार्थी संगठनको बैठक पुस्तिका (माइन्युट) नै प्रहरी प्रशासनलाई बुझाए। फलस्वरूप पार्टीले संचालन गरेको चुबाब खारेजी अभियान अभियानमा मात्र सिमित बन्यो। त्यति बेला बिद्रोही ने.क.पा.का ४४ जना नेता तथा कार्यकर्तालाई कास्की प्रहरीले गिरफ्तार गरेर हिरासतमा राख्यो। चुनाब निर्बाद्ग सम्पन्न भयो।
पार्टीको चुनाब खारेजी अभियान चलिरहदा जिल्लाको नेतृत्व सम्हालिरहेका ब्युरो सदस्यहरु निश्चिन्त रुपमा कोही पोखराको मूल बजारमा जुत्ता, चप्पल बेचेर बसे, कोही गाईभैंसी पालेर, कोही भने प्रहरी प्रशासनका नेतृत्वमा रहेकाहरुसँग काँधमा काँध र हातमा हात मिलाएर हिंडे। तर क्रान्तिका पक्षधर सामान्य कार्यकर्ता अझ भनौं सामान्य समर्थक कार्यकर्ता समेत गरी ४४ जनाले प्रहरीको चिसो छिंडीमा बास बस्नु पर्यो।
प्रहरी प्रशासनमा अडियो, भिडियो र फोटो समेत नभएका तात्कालिन कास्की जिल्ला इन्चार्ज कसरी गिरफ्तार भए ? घान्द्रुकको उरीबाट बैठक बस्दा बस्दै २२ जना नेता तःता कार्यकर्ता कसरी सामुहिक रुपमा कसरी गिरफ्तार भए ? प्रहरी प्रशासनले जिल्ला पार्टीका नेता बाहेक बांक्की विद्यार्थीलाई छाड्छौं भन्दा जिल्ला नेतृत्वले ती विद्यार्थीलाई ढाल बनाएर प्रहरी प्रशासनको प्रस्ताब जिन अस्वीकार गरियो ? किन छुट्ने भए सबै छुत्नुपर्छ नत्र विद्यार्थीलाई मात्र छाड्ने प्रस्ताब मान्दैनौ भनेर किन भनियो ?
पार्टीले उच्च प्राथमिकतामा राखेको र संघर्षको तारोमा राखेको सस्तो बजार तथा नयाँ बस्ती सुकुम्बासी क्षेत्रमा को कसको कारणले पार्टीले पराजय भोग्नु पर्यो ? नेतृत्व ती ठाउँहरुबाट किन पिठ्यूँ फर्काएर भाग्न पर्यो ? अख दुखको कुरा नेतृत्वमा रहेका केही व्यक्तिहरुले आर्थिक लाभ लिए भन्ने बजारी चर्चाले पार्टीको अवस्था के भएको होला ? देशमै चर्चाको बिषय बनेको खोप्लाङ्गे काण्ड प्रहरी-प्रशासन र बिद्रोही ने.क.पा.का केही नेताहरुको मिलेमतोमा सेलाएर गयो भन्ने हल्ला बिद्रोही ने.क.पा.का नेताहरुसम्म पुग्दा यस बारे पार्टी किन बोल्दैन ?
सर्वहारावर्गको पार्टी भन्ने नेतृत्वको आहार, बिहार र आचरणमा ध्यान दिन पर्दैन ? एक पटक तीन लाख रुपियाँको हिसाब नदेखाएका जिल्ला नेतालाई कारबाही गरेको भए अर्को पटक २७ लाख रुपियाँको हिसाब देखाउन बाध्य हुन्थेनन ? तीन लाखको हिसाब नदेखाउदा पनि आत्मालोचना, २७ लाखको हिसाब नदेखाउदा पनि आत्मालोचना ? के हो यो कारबाही पद्धति ? के आत्मालोचालाले जे गर्न पनि छुट हुन्छ ? कस्तो नेतृत्व हो, जनताकै घरमा बस्छ, जनताकै घरमा खान्छ, कार्यकर्ताकै सवारी साधन उपयोग गर्छ। तर पार्टीमा हिसाब देखाउदा “मैले एक वर्षमा २७ लाख रुपियाँ चन्दा उठाएँ। तर मेरो ३६ लाख रुपियाँ खर्च भो। १० लाखको भात खाएँ, १४ लाखको गाडी चढें। ” त्यति बने पुग्यो फेरी आत्मालोचना पत्र लेख्यो हिसाब मिल्यो।
एकजना कम्युनिष्ट नेताले कति पटक आत्मालोचना गर्ने हो ? कि आत्मालोचना गरेपछि जे गर्न पनि छुट छ ? पार्टीभित्र यति ठुला गल्ति कमजोरी हुँदा पनि न त् पार्टी केन्द्रले छानबिन गरेको छ , न स्थानीय पार्टीले ? कि नेतृत्वको नजिक हुनेलाई जे गर्न पनि छुट हुन्छ ? पार्टीविरुद्ध सुराकी गर्नेहरु अहिले पनि पार्टी नेतृत्वको नजिक रहेका छन्। पार्टीको नेतृत्व रिझाउनेलाई कारबाही गर्ने त परे जावोस, कसैले त्यसको बिरोध गरि हाल्यो भने उसको जिन्दगी बर्बाद पारेका घटना पिडित नेता कार्यकर्ताहरु सुनाउछन। कारवाहीमा पर्नुपर्ने नेताहरु अहिले नेतृत्वमा बसेर रजाई गरिरहेकोमा चरम असन्तुष्टि छ बिद्रोही ने,क,पा.भित्र।
ब्यापक बिबादित मान्छे नयाँ कार्य क्षेत्रमा जान्दाकै दिन गिरफ्तार भए। त्यहाँ पोखरा कार्यक्षेत्र भएका युवा नेता गिरफ्तार भएको कास्कीको नेतृत्वले जानकारी दिएको छ। तर ती युवा नेता त्यता पक्राउ भएका रहेनछन। त्यसको भोलिपल्ट पोखरामा अन्य चारजना साथीसहित पक्राउ परे। ती युवा नेता पक्राउ पर्दैछन भनेर नेतृत्वले कसरी अनुमान गरेको होला ? जिल्ला सेक्रेटरी, एक जना पत्रकार र समातिएका पांच जना कार्यकर्ता संगै थिए भन्छन तर पत्रकार र जिल्ला सेक्रेटरी त भागेछन, अझ बिशेष अवस्थामा, कसरी भागे ? आज प्रहरी हिरासतमा रहेका कार्यकर्ता बलिन्द्र आँसुको धारा चुहाएर आत्मसमर्पणको कुरा गरिरहेका छन् ? किन होला ? आत्मरक्षाका लागि होला कि पार्टी नेतृत्वको गद्दारी देखेर होला ? एउटा क्रान्तिको लाइनमा हिंडेको योद्धा दुश्मनको किल्लामा बसेर क्रन्दन मच्चाउन पर्ने अवस्था कसरी आयो ? हिरासतबाट मुक्त भएर गएपछि आफ्नो कुरा पार्टीमा सुनुवाई हुने अवस्था भए एउटा योद्धा आत्मसमर्पण गर्न मनस्थितिमा पुग्थ्यो र ? कतै पार्टीभित्र रहेको गलत नेतृत्वको बिरोध गर्दा आफु गिरफ्तारी गराइएको बुझेको उसले आफ्नो भबिष्य अन्धकार पो देख्यो कि ? पार्टीमा आफ्नो कुराको सुनुवाई नै नहुने अवस्थामा ऊसँग बिकल्प के रहन्छ ?
भन्ने बेलामा दलाल सत्ता र तिनका मतियार भन्ने तिनकै दरबार र सुरक्षा घेरामा आफु सुरक्षित बसेर कार्यकर्तालाई क्रान्ति गर्न पठाएर क्रान्ति सम्भव हुन्छ र कमरेड ? यस्तो अवस्थामा नेतृत्वको गलत प्रवृत्तिको बिरोध गर्ने थप दुई-चार जनाले सुराकीको नाममा ज्यान गुमाउने कुरामा कुनै दुई मत राख्नु पर्ने छैन।
तसर्थ बिद्रोही ने.क.पा.को केन्द्रिय नेतृत्व ! यदी तपाइँहरु साँच्चिकै क्रान्ति गर्न लाग्नु भएको हो भने राष्ट्रघाती, राष्ट्रद्रोही र जनाबिरोधीलाई कारबाही गर्न शुरु गर्नुस। त्यति बेला मानिसले मुखले बिरोध गरे पनि दुई-तिहाइको नाममा व्याप्त भ्रस्टाचार, अनियमितता, बेथितिबाट आजित जनताले मनमनै भए पनि ब्यापक समर्थन र सहयोग गर्नेछन। हैन सुराकीलाई कारबाही गर्ने अभियान चलाउनु भएको हो भने तपाइको पार्टी नेतृत्वमा रहेका सरकारी सुराकीको पहिचान गर्नुस र माफियाको नाम सार्वजनिक गरे जसरी सरकारी सुराकीको नाम सार्वजनिक गर्नुस। अनि तिनालाई कारबाहीको बारे जनतालाई सार्वजनिक जानकारी दिनुस। जनता तपाईंहरुप्रति त्यति बेला बिस्वस्त हुनेछन। जतिबेला जनता तपाइँहरुप्रति बिस्वस्त हुनेछन नि, त्यति बेला तपाइँहरुका बिरुद्ध सुराकी गर्नेलाई जनताले स्वयम् स्वत: प्रतिकार गर्नेछन। जब जनताले बिस्वास गर्नेछन नि, त्यसपछि तपाइँहरुको एकीकृत जनक्रान्तिले फड्को हान्नेछ। नत्र सुराकीको आरोप लगाउदै दुई-चार जना मान्छेको हत्या गरेर क्रान्ति सम्पन्न हुँदैन। जनताको मन जित्ने कार्यक्रम ल्याउनुस। जनतालाई बिस्वास दिलाउनुस। तब न क्रान्ति सम्पन्न हुन्छ। नत्र त् जुन जोगी आए पनि कानै चिरेका हुनेछ। प्रश्न यो छ कि पार्टीभित्र रहेका सुराकीलाई कारबाही गर्ने कि पार्टीभित्र रहेका सुराकीले प्रतिशोध साँध्न प्रमाणित गरेका सुराकीलाई कारवाही गर्ने ? अबका दिनहरुमा क्रान्ति अघि बढ्ने / नबढ्ने भन्ने कुरा यसैमा भर पर्छ। नत्र क्रान्तिका नाममा थप दुई-चार जना नवधनाढ्य बन्नेछन र क्रान्ति ठुलो धोखाधडीमा बिसर्जन हुनेछ।

प्रतिक्रिया