उत्तर कोरियाली नेता किम जोङ–अनले चीनले निर्माण गरेको कोरोना विरुद्धको खोप लगाएको एक अमेरिकी सुरक्षा विशेषज्ञले दाबी गरेका छन् ।
जापानी जासुसी स्रोतलाई उद्धृत गर्दै ती विज्ञले किमलाई हालै उक्त खोप दिइएको दाबी गरेका हुन्।
हाल वासिङ्टनस्थित सेन्टर फर नेसनल इन्ट्रेस्ट संस्थाको कोरिया अध्ययन केन्द्रका वरिष्ट निर्देशक ह्यारी काजियानियासले लेखेको एक लेखमा उत्तर कोरियाली नेता किम, वरिष्ट सरकारी अधिकारीहरु र उनका परिवारका सदस्यहरुले एक दुई साताभित्रै चीनमा निर्माण गरिएको खोप लगाएको उल्लेख गरिएको छ ।
लेखमा उनले दुई जना अपरिचित जापानी गोप्य स्रोत उल्लेख गरेका छन्ग। चीनमा परीक्षणकै क्रममा रहेका केही खोपमध्ये कुन खोप किम र उनका परिवारका सदस्यले लगाएका हुन् भन्ने खुलाइएको छैन ।
चीनमा हाल तीनदेखि चार किसिमका खोप परीक्षणका क्रममा रहेका छन् । तीमध्ये एउटा खोप चीनभित्रै करिब १० लाख व्यक्तिलाई लगाइएको छ । तर खोपको नतिजा सार्वजनिक नगरिएकाले यसको प्रभावकारिता र सुरक्षाका विषयमा निर्क्यौल हुन सकेको छैन ।
उत्तर कोरियामा हालसम्म कोरोनाभाइरस संक्रमणका बारेमा केही जानकारी सार्वजनिक गरिएको छैन । तर गत जनवरीदेखि नै उत्तर कोरियाली सीमामा निकै कडाई गरिएको छ ।