सशस्त्र द्वन्द्वकालमा लुटिएका नेपाली सेनाका हतियार जुम्ला प्रहरीले गाउँमा फेला पारेको छ। चन्दननाथको मूर्ति चोरी घटनाको ‘सर्च अप्रेशन’का क्रममा गज्र्याङकोट क्षेत्रबाट एक दर्जनबढी अत्याधुनिक हतियार बरामद गरेको हो।
सर्च अप्रेशनका क्रममा विशेष सुराकीका अाधारमा गज्र्याङकोट-८, थामबाडोका विभिन्न ठाउँबाट १२ वटा हतियार बरामद गरेको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी गुरुविष्णु काफ्लेले जानकारी दिए।
स्थानीय कमलराज थापा र वेदन थापालाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनीहरुसँग हतियार रहेको खुल्न आएको डिएसपी काफ्लेले जानकारी दिए । प्रहरीले विशेष सूचनाका आधारमा नेपालगञ्जबाट कमलराज थापा र वेदन थापालाई काठमाडौंबाट नियन्त्रणमा लिएर हतियारबारे सोधपुछ गरेको थियो।
सोधपुछका आधारमा गज्र्याङकोटका जंगल, खेतका काँन्ला र कतै ढुंगाले च्यापिएको अवस्थामा हतियार भेटिएको काफ्लेको भनाइ छ। प्रहरीले अर्ध स्वचालित एसएलआर दुई थान, एसएलआरको एक्ट्रा म्यागेजिन दुई थान, प्लास्टिकको डब्बामा राखिएका एसएलआरमा प्रयोग हुने गोली २५ थान, ३०३ राइफलमा लाग्ने गोली दुईथान, इन्डिएन आर्मस् लेखिएको १.६५ एमएन अटोमेटिक पेस्तोल दुई थान र गोली तीनथान, पाँचवटा गोली लाग्ने रिभल्वर दुईथान, कटुवा पेस्तोल दुई थान, केप र फ्युज डेटोनेटर सात थान र पेस्तोल सफा गर्ने रड एकथान बरामद गरेको छ।
डिएसपी काफ्लेका अनुसार बरामद भएका हतियारमध्ये एसएलआर दुई थान द्वन्द्व कालमा नेपाली सेनाबाट लुटिएका हतियार हुन् । द्वन्द्वकालका हतियार अझै गाउँमा रहेको भन्दै उनले हतियार सर्च अभियान जारी राख्ने बताए ।
गाउँमा हतियार देखाएर लुटपाट गर्ने गिरोह सक्रिय भएसँगै प्रहरीले गिरोहको खोजीका लागि हतियार सर्च अप्रेशन समेत जारी राखेको छ। यसअघि पनि प्रहरीले हातहतियार देखाएर लुटपाट गर्ने समूहलाई पक्राउ गरी सार्वजनिक गरेको थियो । पक्राउ परेका दुईजना दाजुभाई रहेको र उनीहरुलाई हातहतियार तथा खरखजाना मुद्दा चलाएको प्रहरीले जानकारी दिएको छ ।
हतियार सार्बजनिक गर्ने कार्यक्रमा मूर्ति अनुसन्धानको कार्य सम्हालेका केन्द्रीय अनुसन्धान व्युरो (सिआइबीका) का डिएसपी अरुण पौडेलले मूर्ति चोरलाई खोजी गर्ने कार्य जारी रहेको बताए ।
काठमाडौं, नेपालगञ्जमा समेत शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने कार्य चलिरहेको र अन्य केही व्यक्तिलाई निरन्तर निगरानीमा राखेको समेत बताए ।
ब्युरोका अनुसार देशको हिमाली क्षेत्रमा हतियारका आडमा लुटपाटमा संलग्न समुहका नाईके रहेका बेदनराज थापा एक हत्या र तीन डकैतीमा संलग्न रहेको आरोपमा फरार अभियुक्त हुन्। ब्युरोका अनुसार थापा कर्तब्य ज्यान मुद्दामा सर्वस्व सहित जन्मकैद र हातहतियार खरखजाना मुद्दामा पाँच वर्ष कैदको फैसला भएको छ । यस्तै जुम्ला प्रशासन कार्यालयबाट बारेन्ट जारी भएका फरार अभियुक्त थापा बिरुद्ध डोल्पामा डकैती मुद्दामा खोजतलास भै रहेको छ।
ब्युरोका प्रमुख डिआईजी नवराज सिलवालले मूर्ति चोरीको घटनाको अनुसन्धानका क्रममा प्रहरीले नियन्त्रणमा लिएका अधिकांश ब्यक्ती कुनै न कुनै घटनामा संलग्न रहेको खुल्ने गरेको बताए। उनले जुम्ला घटनाको अनुसन्धानका लागि देशभर ब्युरोको टोली परिचालन भएको बताए।
प्रहरीका अनुसार मंसिर २ गते डोल्पाको नाउलीमा थापाको नेतृत्वमा रहेका दुईजनाको समुहले जुम्लाका नन्दबहादुर रावललाई पेस्तोल देखाएर नगद लुटपाट गरेको थियो। यस्तै भदौ एक देखि आठ गतेसम्म जुम्लाका विभिन्न ठाँउमा भएको डकैतीमा संलग्न थिए। प्रहरीका अनुसार थापा सहित अम्मर बुढा, युुुुवराज न्यौपाने, राजेन्द्र बुढा, तुम्ती भन्ने राम बुढा, बिमल बुढा र अनिल बुढा समेतको संलग्नतामा चारवटा घटना भएको हो।