स्थानीयको खुकुरी आक्रमणबाट बाल बाल बचे प्रचण्ड

स्थानीयको खुकुरी आक्रमणबाट बाल बाल बचे प्रचण्ड


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ६ मंसिर २०७५
  • 14.2K
    Shares

प्रचण्ड

पूर्वप्रधानमन्त्री तथा सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बिहीबार बिहान चितवनको कृष्ण चोकमा स्थानीयले खुकुरी आक्रमण प्रयास गरेका छन् । खुकुरीसहित पुगेका स्थानीयले उनलाई ‘मार्ने’ धम्कि समेत दिएका छन् ।

आज बिहान भरतपुर महानगरपालिका वडा नम्बर २३ स्थित कृष्णचोक नजिक मधुपुरीमा आयोजित स्थानीय पार्टी प्रवेश गर्ने  कार्यक्रममा प्रचण्ड उपस्थित भएको केही समयमै आक्रोशित स्थानीयको एक समूहमा घरेलु हतियार खुकुरीसहित कार्यक्रमस्थल जम्मा भएका थिए । आक्रोशित समूहबीचबाट एकजना हातमा नांगो खुकुरी लिई प्रचण्डलाई गाली गर्दै अगाडि बढेर आक्रमण गरेका थिए । तर त्यस आक्रमणलाई सुरक्षाकर्मीले रोके । आक्रमणमा पर्नबाट प्रचण्ड जोगिए ।

समाचारमा जनाइएअनुसार आक्रमणपछि उपस्थित प्रचण्ड पक्षधरले उनको हातबाट खुकुरी खोसे र नियन्त्रणमा नलिई कार्यक्रमस्थलबाहिर निकाले । त्यसपछि पनि ती व्यक्तिले आक्रोशित भावमा चिच्याउँदै प्रचण्डलाई अपशब्दमा गालीगलौज गरिरहे । र, ‘मारिदिने’ धम्की दिइरहे । पुनः आक्रमण गर्न झम्टिरहे । आक्रमण गर्ने व्यक्ति प्रचण्ड नेतृत्वकै स्थानीय रिमाल थरका युवा भएको खुलेको छ । उनले प्रचण्डलाई ‘जनमुक्ति सेना बुझाएर पैसा खाएको, जनयुद्धको उद्देश्यलाई कुल्चेको र देश र जनतामाथि गद्दार गरेको’ भन्दै तिखो शब्दमा गाली गरेका थिए ।

आक्रोशित ती व्यक्ति आफ्नो हातको खुँडा कार्यक्रमस्थलमै खोसिएपछि प्रचण्डलाई तथानाम गालीगलौज गर्दै हतियार (खुकुरी)को खोजी गर्दैगर्दा उनलाई केही महिला र पुरुषले समातेर कार्यक्रमस्थलदेखि अन्यत्रै लगेका थिए ।

रिमाल जनयुद्धमा सक्रिय र इमान्दार कार्यकर्ता भएको बुझिएको छ । अध्यक्ष प्रचण्डले जनयुद्धका एजेण्डा र उद्देश्यमाथि धोका दिएको भन्दै चौतर्फी आलोचना गर्दै खनिइरहेको समयबीच चितवनको कृष्णचोकमा यो घटना भएको हो । यस घटनापछि प्रचण्ड थप तनाव परेका निकटस्तहरु बताउँछन् ।

यसअघि एकीकृत नेकपा (माओवादी)का अध्यक्ष रहेका बेला ६ वर्ष अघि पार्टीले दीपावलीको अवसर पारेर भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा हात मिलाउने मौका पारेर युवा पदम कुवँरले प्रचण्डलाई गालामा झापड हानेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार