फ्रि वाइफाई घोषणापत्रमै सिमित, व्यवहारमा जनतालाई भार

फ्रि वाइफाई घोषणापत्रमै सिमित, व्यवहारमा जनतालाई भार


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २९ असार २०७५
  • 8.9K
    Shares

काठमाडौँ । निर्वाचनमा जाँदा सञ्चार सेवा निःशुल्क र सहज बनाउने प्रतिबद्धता जनाएका दलहरुले सरकारमा पुगेको ६ महिना नवित्दै मूल्यबृद्धि गरेर आफ्नै प्रतिबद्धताको खिल्ली उडाएका छन् ।

बाम नेतृत्वको सरकारले दूरसञ्चार शुल्क बृद्धि गरेपछि त्यसको प्रत्यक्ष मार उपभोक्ताले भोग्नुपर्ने भएको छ ।

केपी ओली नेतृत्वको सरकारले  गत जेठमा ल्याएको नीति तथा कार्यक्रममा इन्टरनेट सेवामा शुल्क लगाउने निर्णय गरेको थियो । सरकारको यो निर्णयसँगै साउनबाट टेलिफोन तथा इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले झण्डै ३ प्रतिशत बढी शुल्क तिर्नुपर्ने भएको छ ।

नेपालमा धेरै प्रयोग हुने सरकारी स्वामित्वको नेपाल टेलिकम र निजी मोबाइल सेवा प्रदायक एनसेलले साउन १ गतेबाटै फोन र इन्टरनेट सेवा शुल्क बृद्धि गर्ने तयारी गरेका छन् । नेपाल टेलिकमले शुल्क बृद्धिबारे एकदुई दिनभित्रै निर्णग गर्ने जनाएको छ । ‘ साउन १ बाटै बढाउने तयारी भइरहेको छ, केही दिनमै कति बढ्ने भन्ने जानकारी दिन्छौँ’ नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले बताइन् ।

उता, एनसेलले साउन १ बाट शुल्कबृद्धिको सूचना ग्राहकहरुलाई पठाइसकेको छ ।

यी बाहेक अरु इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले पनि साउन १ गतेबाट इन्टरनेट सेवाको शुल्क बृद्धि गर्ने तयारी गरेका छन् । सरकारले टेलिफोन सेवा प्रदायकका हकमा मात्र लगाउँदै आएको यो दस्तुर इन्टरनेट सेवामा पनि विस्तार गरेपछि त्यसको असर नेट प्रयोगकर्ताहरुमा पनि पर्ने भएको हो ।

नेपाल टेलिकम प्रवक्ता वैद्यले सरकारले टेलिफोनमा ११ प्रतिशत रहेको कर दस्तुर १३ प्रतिशत पुर्याएपछि त्यही अनुपातमा इन्टरनेट सेवामा पनि शुल्क बढ्न सक्ने बताइन् ।

फ्रि वाइफाई घोषणापत्रमै सिमित 
गत मंसिरमा भएको निर्वाचनमा अहिलेका सत्तारुढ दलहरुले जनतालाई आकर्षक नारा दिएका थिए–‘देशभर फ्रि वाईफाईको ।’ तर, निर्वाचन जितेर सरकार बनाएको चार महिना नबित्दै चुनावी प्रतिबद्धता विपरित यस्ता सेवामा मूल्यबृद्धि गरेर जनतालाई भार थपेका छन् । तत्कालिन एमाले र माओवादीले चुनावका बेला जनतालाई बाँडेको चुनावी घोषणापत्रको १७ नम्बर बुँदाको ‘सूचना प्रविधि र प्रेस स्वतन्त्रता’ शीर्षकमा  ५ वर्षमा देशभर वाईफाई फ्रि बनाउने, सबै विद्यालय, प्रशासनिक भवन, स्वास्थ्य चौकी लगायतसार्वजनिक संस्थामा निःशुल्क इन्टरनेट सेवा उपलव्ध गराइने उल्लेख छ । रातोपाटी

प्रतिक्रिया
सम्बन्धित समाचार