भारतीय लगानीकाे अरुण तेस्रोको सुरुङ खन्ने क्रममा चार जनाको मृत्यु

भारतीय लगानीकाे अरुण तेस्रोको सुरुङ खन्ने क्रममा चार जनाको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २ असार २०७५
  • 15.4K
    Shares

संखुवासभा– अरुण तेस्रोको सुरुङ खन्ने क्रममा संखुवासभाको मकालु गाउँपालिकाको फ्याक्सिन्दामा चार जना कामदारको मृत्यु भएको आशंका गरिएको छ ।

नुमको फ्याक्सिन्दामा निर्माणाधीन अरुण तेस्रोको सुरुङ खन्ने क्रममा शुक्रबार राति पौने ९ बजे ढिस्को झरेको थियो । ढिस्कोले पुरिएर दुई जना नेपाली र दुई जना भारतीय कामदारको मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्यामकुमार सारुमगरले बताए ।

ढिस्कोले पुरिएर कालीकोट सिउना गाउँपालिका–४ का प्रदीप शाही, जुम्ला चन्द्रनाथ नगरपालिका–१ का प्रेम परियार, भारत झारखण्डका बुधन मुण्डा र भारत विहारका नन्द किशोरको मृत्यु भएको हो । शाही र परियार कामदार थिए भने मुण्डा अपरेटर र नन्द किशोर विद्युत् मिस्त्री थिए ।

घटनास्थलमा उद्धारका लागि प्रहरी, सशस्त्र प्रहरी र स्थानीय खटिएका छन् । झरी परिरहेकाले उद्धारमा कठिनाइ भइरहेको प्रहरी नायब उपरीक्षक सारुमगरले बताए । ढिस्को हटाउन स्काभेटर र डोजर घटनास्थलमा लगिसकिएको छ ।

भारतीय लगानीमा निर्माण अघि बढेका ठूला आयोजनामध्येको एक अरुण तेस्रो परियोजना पनि एक हो । यस आयोजनाको ६ प्रतिशत सेयर स्थानीयले पाउने भएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा  प्रधानमन्त्री केपी ओली र मोदीले संयुक्तरुपमा अरुण तेस्रोको स्वीच थिचेर  शिलान्यास गरेका थिए ।

द्धारिका होटलको शिलान्यास कार्यक्रमलाई अरुण तेस्रोको निर्माणस्थल संखुवासभा जिल्लाको मकालु गाउँपालिकाको फयाक्सिन्दासम्म भिडियो मार्फत जोडिएको थियो ।

यो आयोजना भारतीय कम्पनीलाई दिएको सम्बन्धमा  केहि राजनीतिक दलहरुले चर्को विरोध समेत गर्दै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार