प्रमुख निर्वाचन आयुक्त यादव गृहजिल्लामा सञ्चारकर्मीबाट बहिष्कृत

प्रमुख निर्वाचन आयुक्त यादव गृहजिल्लामा सञ्चारकर्मीबाट बहिष्कृत


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २८ जेष्ठ २०७५
  • 12.2K
    Shares

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादव सोमबार आफ्नै गृह जिल्ला सप्तरीमा बहिष्कृत भएका छन् । सबै तहको निर्वाचन सम्पन्न भएको ६ महिनापछि आयोगले राजविराजमा आयोजना गरेको राजनीतिक दल, नागरिक समाज तथा निर्वाचनमा सरोकार राख्ने व्यक्तिहरूसँग निर्वाचन कानुन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागी हुन आएका यादवको कार्यक्रम बहिष्कार भएको हो ।

कार्यक्रमको उद्देश्य बताएलगत्तै उद्देश्यअनुरुप प्रमुख राजनीतिक दल, सञ्चारकर्मी, मानवअधिकारकर्मी, नागरिक समाज, कानुन व्यवसायीहरूको अनुपस्थितिप्रति प्रमुख निर्वाचन आयुक्त यादवलाई ध्यानाकर्षण गराउँदा उनी गैरजिम्मेवार रूपमा प्रस्तुत भएपछि सञ्चारकर्मीहरूले कार्यक्रम बहिष्कार गरेका हुन् । सप्तरीवासी डा. यादवले उक्त कार्यक्रम जनकपुरबाट राजविराज ल्याएको भन्दै सबैलाई कार्यक्रममा बस्न आग्रह गरे । तर प्रमुख राजनीतिक दल, सञ्चारकर्मी र नागरिक समाजलाई उपेक्षा गरेको भन्दै सञ्चारकर्मीहरूले कार्यक्रम बहिष्कार गरे ।

कार्यक्रममा प्रमुख राजनीतिक दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा), प्रमुख प्रतिपक्ष नेपाली काँग्रेस, सङ्घीय समाजवादी फोरम नेपाल र राजपा नेपालका जिल्ला नेताहरूको उपस्थिति रहेको छैन । कार्यक्रममा भने काँग्रेसमा विलय भइसकेको फोरम लोकतान्त्रिकका भोगेन्द्र चौधरी, राजपामा विलय भइसकेको थरुहट तराई पार्टीका पूर्णप्रसाद चौधरी, एमालेमा प्रवेश गरिसकेका आकाश यादव, माओवादी प्रवेश गरी प्रदेश सभा सदस्यमा उम्मेदवार बनेका सकिल अलिलगायतको उपस्थिति रहेपनि मुख्य राजनीतिक दलका कोही उपस्थित छैनन् ।

उपस्थित भएकाहरुले निर्वाचन कार्यालयले व्यक्तिगत फोन गरेर बोलाएकोले चुनाव सम्बन्धी छलफल भन्ने लागेर सहभागी हुन आएको तर पार्टी प्रतिनिधित्वको हिसाबले बोलाएको कुरा कार्यक्रममा आएपछि मात्र थाहा पाएपछि अप्ठ्यारो परेको सकिल अलीले बताए । नागरिक समाजका अध्यक्ष थानसिंह भन्सालीले बिलय भइसकेको र अस्तित्वमै नरहेको राजनीतिक दलको प्रतिनिधित्व थाहा पाएपछि कार्यक्रममा जानुको औचित्य नरहेको भन्दै कार्यक्रममा अनुपस्थित रहेको बताए ।

प्रमुख निर्वाचन आयुक्तको उपस्थितिमा यस अघि हुने गरेका कार्यक्रमहरूमा डा. यादवकै विशेष निर्देशनमा निर्वाचन कार्यालयले सञ्चारकर्मीहरूको बाक्लो उपस्थिति गराउने गरेको थियो । यस पटक पाँच जना सञ्चारकर्मीलाई मात्र सहभागिता गराउन आयोगको निर्देशन बमोजिम सञ्चारकर्मी बोलाउने जिम्मा नेपाल पत्रकार महासङ्घ शाखा सप्तरीलाई लगाएको जिल्ला निर्वाचन कार्यालय प्रमुख दिलीप यादवले बताए ।

कार्यक्रममा जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुंगाना, प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, सप्तरीका प्रहरी प्रमुख मुकेशकुमार सिंह, राष्ट्रिय अनुसन्धान कार्यालयका उप निर्देशक देवराज लिम्बु र सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालयका प्रमुखको भने उपस्थिति रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार