सरकारी कागजपत्र कीर्ते गरेको आरोपमा पत्रकारसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कञ्चनपुरको भीमदत्त नगरपालिका घर भइ काठमाडौंको नयाँ बजार बस्दै आएका पत्रकार देवराज साउद छन् । साउदसहित बागबजारमा रहेको यामाटो एजुकेशनल प्रा.लि.का सञ्चालक सुर्खेतको वीरेन्द्रनगर–१५ घर भइ भक्तपुरको कौलटार बस्दै आएका दिपककुमार खत्रीलाई समेत प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।
महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) धिरजप्रताप सिंहले दिएको जानकारी अनुसार साउदले पुतलीसडकमा सञ्चालन गरेको आर्यन इन्टरनेशनल एजुकेशन प्रा.लि.मा विशेष सुराकीको आधारमा छापा मार्दा नक्कली सरकारी कागजात, शैक्षिक प्रमाण पत्र लगायत फेला परेपछि उनलाई पक्राउ गरिएको हो ।
उनीहरुमाथि सरकारी कागज कीर्ते मुद्दामा थप अनुसन्धान गर्नका लागि महानगरीय प्रहरी परिसर, टेकु पठाइएको महाशाखाले जनाएको छ ।