विप्लबले नेतृत्व गरेको पार्टी नेपाल कम्युनिष्ट पार्टी निकट बिधार्थी संगठन अखिल (क्रान्तिकारी)का अध्यक्ष पूर्णबहादुर सिंहले प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई जनअदालतमा मुद्दा हाल्ने चेतावनी दिएका छन् ।
शुक्रबार संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष सिंहले माफियाहरुसँग मिलेर शैक्षिक क्षेत्रलाई व्यपार गर्ने थलो बनाउन सहयोग गरेको भन्दै उनीहरुलाई मुद्दा हाल्ने चेतावनी दिएका हुन् ।
“यो देशमा दुईओटा सत्ता छन्, दुईओटा अदालत छन्, शैक्षिक माफिया र उनीहरुको संरक्षण गर्ने प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माके अध्यक्ष प्रचण्डलगायतलाई जनअदालतमा मुद्दा हाल्छौं” सिंहले भने ।
साथै अध्यक्ष सिंहले आफूहरु भारतले हस्तक्षेप गर्ने गरेको सीमा स्तम्भमा जाने र आवश्यक परे गोली थाप्ने बताए । उनले आफ्नो संगठनका सम्पूर्ण सदस्यहरु आवश्यक परे जनमुक्ति सेनामा भर्ती भएर राष्ट्रियता रक्षाको लागि बन्दुक बोक्ने प्रतिवद्धता गरेको बताए ।
संगठनका महासचिव दिपेन्द्र चलाउनेले आउँदो फागुनमा हुने सम्मेनल जागरण अभियान भएको बताउँदै मेचीदेखि महाकाली, हिमालदेखि तराईका सीमासम्म पुग्ने बताए ।
संगठनको आठौं बैठकले आउँदो फागुन २७ देखि ३० राष्ट्रिय सम्मेलन दाङमा गर्ने निर्णय गरेको छ । २७ गते उद्घाटन, २७ देखि २९ बन्द सत्र र ३० गते घोषणा सभा गर्ने क्रान्तिकारीले जनाएको छ ।