संखुवासभा जीप दुर्घटनाका प्रत्यक्षदर्शी भन्छन्, ‘जीप सिधै अरुणमा खस्यो’

संखुवासभा जीप दुर्घटनाका प्रत्यक्षदर्शी भन्छन्, ‘जीप सिधै अरुणमा खस्यो’


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १ माघ २०७४
  • 5.3K
    Shares

संखुवासभा — संखुवासभा–सांसद राजेन्द्र गौतम, प्रदेश सांसद पूर्णप्रसाद राई समेतको टोली फरकफरक गाडीमा थिए । उनीहरुको पछिपछि बा ५ च १३०९ नम्बरको सेतो जीप थियो ।

त्यो सेतो जीपमा मकालु गाउँपालिकाका अध्यक्ष खड्गबहादुर कटुवाल, समाजशास्त्री अर्जुन बस्नेत, इन्जिनीयर सुदीप ढकाल, जिल्ला समन्वय समितिका सूचना अधिकृत सुभाषचन्द्र कुईकेल र चालक कृष्ण श्रेष्ठ सवार थिए।
मकालु्–३ मा पर्ने एक होटलमा खाना खाएपछि आईतबार करिव सवा १० बजे तिर भोटखोला गाउँपालिकाको हटियामा पर्ने बरुण दोभान तर्फ जीप अघि बढाउने तरखर भयो। पहिला गाउँकै लक्ष्मण राई र पूरन राई सेतो गाडीमा चढ्न खोजे। ६ जना अटाउने जीपमा पाथीभरा हेदांनाका सुरेश राईले म गाउँपालिका अध्यक्षसँग विकास निर्माणको गफ गर्दे जान्छु भनेपछि लक्ष्मण र पूरन बाहिरिए। लक्ष्मण सांसद गौतम र पूरन प्रदेश सांसद राई चढेको गाडीमा बसे।
गाडी अघि बढेको १५ सय मिटर पुग्दानपुग्दै सामाटारको घुम्तिबाट जीप अरुणमा खस्यो। हामी त्यो घुम्ति कटिसकेका थियौं। पछिपछि आइरहेको जीप दुईपटक जति बजारिएर अरुणको बगरमा खस्यो। हतारहतार गर्दै सडकबाट हेर्दा जीप कच्याककुच्चुक भइसकेको थियो। ३ सय मिटर जति तल अरुणको बगरमा सोतो गाडी देखिएपछि हामी अलैंचीबारी हुँदै जीप भएको स्थानमा पुग्यौं। जीपमा सवार सबैको ज्यान गइसकेको थियो।
गाउँपालिका अध्यक्ष कटुवालको एउटा खुट्टा अरुणमा हल्का डुबेको थियो, आधा शरिर बाहिर थियो। उहाँलाईमात्रै हामीले चिन्यौं, प्रहरी कार्यालय र सेनाको ब्यारेक टाढा भएकाले उनीहरुलाई आउन केही समय लाग्यो। प्रहरी र सेना आएपछि सबै शव जीप भित्रै भएकाले सडकमा काम गर्नेहरुको सामाग्री प्रयोग गरेर झ्याल र हुट काटेर निकालियो।
भूकम्पको कागजपत्र जताततै छरपष्ट थियो। घुम्ति सानो भएको र भीरको बाटो भएकाले तारजाली र ढुंगाको गाह्रो उठाउन खनिएको स्थानमा चालक झुक्किए जस्तो लाग्छ। दिन बलियो थियो हामी बाँच्यौं। ओरालो लागेर घुम्ति आउने बेलामा चालकले सीधाबाटो देखेको हुनसक्छ। नयाँ चालक काठमाडौंबाट पहिलो पटक आएको र कच्ची सडकमा अनुभव नभएकाले दुर्घटना भएको हो जस्तो छ। चालकले कच्ची सडकमा अप्ठेरो भएको पटकपटक भन्दै आएका थिए।
मकर नुहाउन गएका सांसद गौतम, प्रदेश सांसद राईसहितको टोली घटनास्थलबाट हेरेर सदरमुकाम फर्किए। सोमबार ६ जनाको शव मध्ये गाउँपालिका अध्यक्ष खड्गबहादुर कटुवाल र सुरेश राई र कुईंकेलको शव एमाले पाटी कार्यालयमा श्रद्धाञ्जली दिइयो। कटुवाल र राईको शव हेलिकप्टरबाट नुम लगेर अन्तिम संस्कार गरियो। कुईंकेलको शव खाँदबारी–९ स्थित मनकामनामा लगेर अन्तिम संस्कार गरियो।
काठमाडौंबाट आएका समाजशास्त्री बस्नेत, इन्जिनीयर ढकाल र चालक कृष्ण श्रेष्ठको शव हेलिकप्टरबाट राजधानी लगियो। दुर्घटना भएको जीप स्थानीय विकास मन्त्रालय अन्तरगत केन्द्रिय आयोजना कार्यान्वयन इकाईको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार