२३ भदौ, चितवन ।नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले घोषणा गरे लगत्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि आफूले चुनाव लड्ने निर्वाचन क्षेत्रको घोषणा गरेका छन् ।
प्रचण्डले आगामी निर्वाचनमा आफू चितवनबाट चुनाव लड्ने घोषण गरेका हुन् । प्रेस सेन्टर चितवनले आज भरतपुरमा गरेको पत्रकार सम्मेलनमा प्रचण्डले भने, “बीरगञ्ज बैठकबाट म चितवनमा चुनाव लड्ने निर्णय भएको छ । चितवन देशको एउटा विशिष्ट जिल्ला हो, यसको राष्ट्रिय राजनीतिमा विशेष भूमिका पनि छ । त्यसैले म चितवनबाट चुनाव लड्दैछु ।’
प्रचण्डले आफु समग्र देशको अनुभव लिएर चितवन आउन लागेको र चितवनलाई उत्कृष्ट शहरको रुपमा विकास गर्न दीर्घकालिन विकासको गुरुयोजना बनाउने बताए । भरतपुरलाई स्मार्ट सिटी मात्रै नभएर उत्कृष्ट शहर बनाउनु पर्छ भनेर अफूले यसबारे चीनियाँहरुसँग पनि कुरा गरेको जानकारी दिए ।
छिटै यसको गुरुयोजना बन्ने प्रचण्डको भनाई थियो । नदी नियन्त्रण र व्यवस्थापन, निकुञ्ज व्यवस्थापन, कृषिको आधुनिकिकरण, प्राविधिक शिक्षाको गुणात्मक विकास, रिङ रोड, सञ्चार लगायतका क्षेत्रलाई प्राथमिकतामा राखिने प्रचण्डले बताए । प्रचण्डकी छोरी रेणु दाहालले पनि स्थानीय तह निर्वाचनमा चितनवबाटै चुनाव लडेर मेयर पद जितेकी थिइन ।