गुल्मी। गुल्मीको मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाको टाउकोमा अचानक जोडले ढुंगा बज्रिएको छ । अचानक भएको घटनामा सापकोटा घाइते भएका छन् ।
सडक अनुगमनमा निस्केका मेयर सापकोटा वामी–टक्सार–अर्लाङकोट हुँदै काँडेवास हटिया जोड्ने निर्माणाधीन मोटरवाटोको अनुगमन तथा निरीक्षण गर्ने क्रममा थिए । नगरपालिकाको वडा नं. ७ स्थित बसेरी नजिकैको स्थानमा माथिवाट खसेको ढुंगाले सापकोटलाई लागेको हो ।
ढुंगाले लागेर सापकोटाको वायाँ हात तथा खुट्टामा चोट लागेको छ । स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि उनलाई थप उपचारको लागि बुटवल लगिएको छ ।
मुसिकोट नगरपालिकाका कार्यकारी अधिकृत घनश्याम न्यौपानेले ठूलो दुर्घटनाबाट नगरपालिका प्रमुख सापकोटा बचेको जानकारी दिए । मोटरवाटो निरीक्षणको लागि सापकोटासंगै नगर कार्यालय प्रमुख घनश्याम न्यौपाने, समाजसेवी अग्नीधर लोहनी, निर्माण कम्पनीका प्रतिनिधि, इन्जिनियरलगायतको टोली निर्माण स्थलमा पुगेको थियो ।