बन्दीको हत्या गर्ने प्रहरीविरुद्ध मुद्दा चलाउन उच्च अदालतको आदेश

बन्दीको हत्या गर्ने प्रहरीविरुद्ध मुद्दा चलाउन उच्च अदालतको आदेश


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १७ भाद्र २०७४
  • 7.7K
    Shares

कर्तव्य ज्यान मुद्दाका अभियुक्तलाई हिरासतमै यातना दिएर हत्या गरेको प्रहरी विरुद्धको किटानी जाहेरी दर्ता गर्न जिल्ला प्रहरी कार्यालय खोटाङलाई अदालतले आदेश दिएको छ । जिल्ला प्रहरी कार्यालय खोटाङमा कार्यरत प्रहरीहरुले हिरासतमा रहेका बन्दी किरण राईको हत्या गरेको घटनामा परेको किटानी जाहेरी दर्ता गरी पीडित पक्षलाई क्षतिपूर्ति समेत दिलाउन परमादेशको आदेश जारी गरि दिन माग गर्दै दर्ता भएको रिट निवेदनमा सुनुवाइ गर्दै न्यायधीशहरु टेकराज नेपाल र दिपेन्द्रबहादुर बमको इजलाशले यस्तो आदेश दिएको हो ।

 

परमादेशमा प्रहरीलाई जाहेरी लिन र प्रशासनलाई क्षतिपूर्ति दिन भनिएको छ । ‘निवेदकको जाहेरी लिई मुद्दाको अनुसन्धान तहकिकात गर्न विपक्षीहरुका नाउँमा आज्ञा आदेश जारी गरिदिइएको छ’ परमादेशमा भनिएको छ । परमादेश जारी भएपछि एक वर्ष सम्म झुलाउदै आएको प्रहरीलाई जाहरी दर्ता गर्न दवाव परेको छ ।

खोटाङको माथेकाका किरण राई कर्तव्य ज्यान मुद्दामा हिरासतमा रहेको समयमा प्रहरीको यातनाका कारण ०७० असार २६ गते मृत्यु भएको थियो । घटनापछि पीडित परिवारले जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार सुरेसप्रसाद यादव, जवानहरु नक्कुल राई, रामकुमार बोगटी, कैलाश खत्री, चन्द्र खड्का, देवराज माझी, नारायण खड्का तथा प्रहरी नायव निरीक्षक महेन्द्र खत्री र मुकुन्दप्रसाद बिडारीविरुद्ध परेको किटानी जाहेरी प्रहरीले दर्ता गरेको थिएन ।

प्रहरी जाहेरी दर्ता नगरेपछि पीडितले हुलाकबाट जाहेरी पठाएका थिए । हुलाकबाट आएको जाहेरी समेत दर्ता नभएको भनी परेको उजुरी छानविन गरी राष्ट्रिय मानव अधिकार आयोगले पीडित परिवारलाई तीन लाख क्षतिपूर्ति दिन र अभियुक्तहरुलाई कारवाही गर्न ०७१ साउन ३० गते लिखित निर्देशन दिएको थियो ।

आयोगको निर्णय समेत सुनुवाइ नभएपछि पीडित परिवारले तत्कालीन पुनरावेदन अदालत राजविराजमा परमादेशको आदेश जारी गरि दिन माग गर्दै वारेश मार्फत ०७३ साल साउन १३ गते रिट निवेदन दर्ता गरेका थिए ।

निवेदनको सुनुवाइ गर्दै उच्च अदालतले एक वर्ष एक महिनापछि परमादेशको आदेश जारी गरेको हो । पीडितहरुले जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय खोटाङलाई विपक्षी बनाएर रिट निवेदन दर्ता गरेका थिए । रिट निवेदनमा सरकारी पक्षबाट नवराज पराजुली र रिट निवेदक पीडितका तर्फबाट अधिवक्ता टुकराज निरौलाले बहस गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार