एक नम्बर संगठन बनाउँछु क्रान्तिकारीका नवनिर्वाचित अध्यक्ष

एक नम्बर संगठन बनाउँछु क्रान्तिकारीका नवनिर्वाचित अध्यक्ष


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १७ भाद्र २०७४
  • 5.9K
    Shares

१७ भदौ, काठमाडौं । अखिल क्रान्तिकारीका नवनिर्वाचित अध्यक्ष रञ्जित तामाङले संगठनलाई विद्यार्थीहरुको एक नं. संगठन बनाउने घोषणा गरेका छन् ।

निर्वाचित पदाधिकारीहरुको घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष तामाङले क्रान्तिकारीले नयाँ पद्धतिको सुरुआत गरेको भन्दै आफ्नो नेतृत्वमा संगठनलाई विद्यार्थीहरुको एक नं. संगठन बनाउने प्रतिबद्धता जनाएका हुन् । ‘मलाई नेतृत्व गर्न मत दिनुभएको छ,’उनले भने,’तपाईहरु सबैको सुझाव लिएर संगठनलाई नेविसंघ र अखिल भन्दा क्रान्तिकारी र एक नं. संगठन बनाउँछु ।’

यो निर्वाचन कसैको जित र हारका लागि नभई पद्धतिका लागि भएको भन्दै उनले सोही अनुसार आफूले अखिल क्रान्तिकारीको नेतृत्व पाएको बताए ।

मतदाताहरुले आफूलाई विद्यार्थीको नेतृत्व गर्न मत दिएको भन्दै उनले यो चुनावमा कसैको हारजित नभई मोर्चा परिवर्तन भएको बताए । ‘हामीले विद्यार्थी सल्लाहमा विद्यार्थी साथीहरुसँग मत माग्यौं,’ उनले भने,’साथीहरुले मलाई विद्यार्थीको नेतृत्व गर्न मत दिनुभयो, अनिल शर्माजीलाई अब बाहृय मोर्चाको नेतृत्व गर्न मत दिनुभयो, हामी सबैको जित भयो ।’

उनले संगठनभित्र सबैका सल्लाह, सुझाव, भावना समेटेर सम्मेलनबाट पारित भएका नीति तथा कार्यक्रमहरुलाई कार्यान्वयन गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

यस्तै अध्यक्षका प्रतिस्पर्धी अनिल शर्माले पनि यो हारजित नभई सम्मान जनक विदाई भएको बताए । यस अघिका सम्मेलनहरुबाट असहज रुपमा चित्त दुखाएर विद्यार्थी राजनीतिबाट विदा हुनुपर्ने अवस्था रहेको भन्दै शर्माले यसपटकदेखि सबैको चित्त बुझाएर विदाई गर्ने पद्धतिको सुरुआत भएको बताए ।

उनले आफूलाई विद्यार्थीहरुले खुला राजनीतिमा जान सुझाव दिएको भन्दै अव विद्यार्थी राजनीतिबाट विदा भएर खुला राजनीतिमा लाग्ने बताए ।

घोषणा कार्यक्रममा क्रान्तिकारीहरुका पूर्व अध्यक्षहरु, पूर्व पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार