७ भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा भारतको पाँच दिने राजकीय भ्रमणका लागि नयाँ दिल्ली पुगेका छन् । भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री देउवा ४८ सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ गएका हुन् ।
नेपाल वायुसेवा निगमको नियमित उडानबाट नयाँदिल्ली पुगेका देउवालाई इन्दिरागान्धि अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विदेश मन्त्री सुष्मा स्वराजले स्वागत गरेकी छिन् । प्रधानमन्त्री देउवाले द्विदेशीय उच्चस्तरीय वार्तासहित भेटघाट र अन्य कार्यक्रममा सहभागिता जनाउनु हुनेछ ।
भ्रमण तालिकाअनुसार आज नयाँदिल्ली पुगेर राष्ट्रपति भवनमा केहीबेर विश्रामपछि उनले नेपाली दूतावासमा नेपाली समुदायसँग छलफल गर्ने कार्यतालिका छ ।
भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय सकमक्षी नरेन्द्र मोदीबीच आजै भेटवार्ता हुने भएको छ । यसलाई ‘वार्मअप’ भेट भनिएको छ ।
प्रधानमन्त्री देउवा पाँच दिने भारत भ्रमणका क्रममा बुधबार नयाँदिल्लीमा पुगेका छन् । उनी दिल्लीस्थित नेपाली दूताबासमा पुगेर प्रवासी नेपालीहरुलाई छोटो सम्बोधन गरे ।
भोलि विहान राष्ट्रपति भवनमा गार्ड अफ अनरको सम्मान लिएपछि मात्र औपचारिक भेटवार्ताहरु सुरु हुनेछ ।
तर, त्यसअघि नै भारतीय प्रधानमन्त्री मोदीले नेपाली समकक्षी देउवालाई ‘वार्मअप’ मिटिङको प्रस्ताव गरे ।
भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले भने, ‘भोलि औपचारिक छलफल हुन्छ । त्यो भन्दा अगाडि कसरी राजनीतिक तहबाट के गर्न सकिन्छ, चियामा यसो भेट गर्ने भन्नेछ ।’
उनले यसलाई ‘वार्मअप’ भेट भनेका छन् । देउवा र मोदीबीच भेटवार्ता हुने स्थान भने खुलाइएको छैन ।
प्रधानमन्त्री देउवा र मोदीबीच भोलि हैदराबाद हाउसमा ३० मिनेट वान टु वान भेटवार्ता गर्ने कार्यतालिका छ । लगतै दुई देशको प्रतिनिधिमण्डलबीच एकघन्टा वार्ता हुनेछ र केही सम्झौतामा हस्ताक्षर हुनेछ ।
दिल्ली झरेपछि देउवा र पत्नी आरजु राष्ट्रपति भवन गएका थिए, जहाँ उनी विशिष्ट पाहुनाको रूपमा भ्रमण अवधिभर बस्नेछन् । भ्रमण दलका अरू सदस्यहरू भने ताज होटलमा बस्न गए । त्यसपछि देउवा बिरामी अवस्थामा भएका डिपी त्रिपाठीलाई भेट्न गए । दूतावास आउनुपूर्व नै देउवाले त्रिपाठीलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । त्यसपछि दूतावास पुगेर ज्ञापनपत्र बुझ्दै गर्दा उनलाई समकक्षी मोदीबाट अकस्मात चियापानको निम्तो आएको थियो ।