काठमाडौं, १३ मंसिर।२०८३।
आफूलाई प्रहरी निरीक्षक भन्दै सर्वसाधारणलाई झुक्याएर दुई लाख रुपैयाँ मागेको आरोपमा काठमाण्डौबाट पाँच जना पक्राउ परेका छन्।
प्रहरी प्रभाग काँडाघारीका अनुसार मंसिर १० गते दिउँसो करिब २ बजे एक व्यक्तिलाई सोधपुछका लागि प्रहरी प्रभागमा बोलाइएको थियो। उनलाई भेट्न उनका भाइ पुगेका बेला पाँच जनाको समूहले आफूहरू प्रहरी निरीक्षक भएको भन्दै परिचय दिएको थियो।
उक्त समूहले सोधपुछका लागि बोलाइएका व्यक्तिलाई मुद्दा नचलाई छुटाइदिने भन्दै उनका भाइसँग दुई लाख रुपैयाँ मागेको प्रहरीले जनाएको छ। उनीहरूले होटल खर्चसमेत तिर्न लगाएका थिए। रकम दिन अस्वीकार गरेपछि फोन तथा म्यासेजमार्फत पटक–पटक धम्की दिँदै मानसिक र आर्थिक तनाव दिएको पीडितको भनाइ छ।
पीडितले दिएको सूचनाका आधारमा प्रहरी प्रभाग काँडाघारीबाट खटिएको टोलीले काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ स्थित वीरेन्द्र चोकबाट पाँचै जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा ओखलढुङ्गाको मोलुङ गाउँपालिका–२ घर भई हाल चाबहिल बस्ने ३४ वर्षीय टेकराज श्रेष्ठ, रामेछापको लिखु गाउँपालिका–१ घर भई हाल कपन बस्ने २९ वर्षीय इन्द्रबहादुर भुजेल, पाल्पाको तानसेन नगरपालिका–६ घर भई हाल हात्तीडाँडा बस्ने ३३ वर्षीय धिरज रानाभाट रहेका छन्।
त्यस्तै, सिन्धुपाल्चोकको जुगल गाउँपालिका–५ घर भई हाल भक्तपुरको दुवाकोट बस्ने २५ वर्षीय खेलबहादुर मगर र सिन्धुलीको मरिण गाउँपालिका–२ घर भई हाल काभ्रेपलाञ्चोकको बनेपा बस्ने ३० वर्षीय हर्क सिंह भोलन पनि पक्राउ परेका छन्।
पक्राउ परेका पाँचै जनामाथि अभद्र व्यवहार गर्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट चार दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।