भारतमा पक्राउ गरेर काठमाण्डौ ल्याइएका पूर्वमुख्यसचिव अर्यालको घरमा राती प्रहरीको छापा : भेटिए अनुसन्धानसँग सम्बन्धित कागजात

भारतमा पक्राउ गरेर काठमाण्डौ ल्याइएका पूर्वमुख्यसचिव अर्यालको घरमा राती प्रहरीको छापा : भेटिए अनुसन्धानसँग सम्बन्धित कागजात


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १२ मंसिर २०८३
  • 361
    Shares

eknarayan aryal

काठमाण्डौ, ११ मंसिर २०८३ ।

भारतबाट पक्राउ गरी काठमाडौं ल्याइएका पूर्वमुख्यसचिव एकनारायण अर्यालको निवासमा गएराती प्रहरीले छापा मारेको छ।

मलेसिया जाने नेपाली श्रमिकबाट स्वास्थ्य परीक्षणका नाममा गैरकानुनी रूपमा रकम असुली गरी विदेश पठाइएको प्रकरणको अनुसन्धानका क्रममा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिहीबार साँझ अर्यालको काठमाडौंस्थित हेपाली हाइटमा रहेको घरमा खानतलासी गरेको हो।

सीआईबीले अनुसन्धानसँग सम्बन्धित कागजात तथा अन्य प्रमाण फेला पर्न सक्ने आशंकामा उनको निवासमा छापा मारेको हो। खानतलासीका क्रममा केही कागजात अनुसन्धानका लागि नियन्त्रणमा लिइएको सीआईबीका प्रवक्ता एसएसपी अनुपमशमशेर जबराले बताएका छन्।

अर्याललाई प्रहरीले बिहीबार भारतबाट पक्राउ गरी काठमाडौं ल्याएको थियो। उनलाई आवश्यक मेडिकल परीक्षणपछि महाराजगन्जस्थित सीआईबीको हिरासतमा राखिएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिव हुँदा मलेसिया जाने नेपाली श्रमिकबाट गैरकानुनी रूपमा रकम असुली गरी विदेश पठाउने निर्णय प्रक्रियामा संलग्न रहेको आरोप अर्यालमाथि छ।

सीआईबीको अनुसन्धानअनुसार २०७६ देखि २०८१ सम्म विभिन्न नीतिगत निर्णयका आधारमा १७ पटक रकम मलेसिया पठाइएको थियो। यसरी श्रमिकबाट संकलित १ अर्ब ६९ करोड २ लाख २४ हजार २६ रुपैयाँ विदेश पठाइएको प्रहरीको दाबी छ।

अर्याल श्रम सचिव रहेका बेला मात्रै सात पटक रकम विदेश पठाइएको अनुसन्धानमा देखिएको छ।

सीआईबीले उनीमाथि ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइरहेको छ। अर्याललाई थप अनुसन्धानका लागि म्याद थप गर्न शुक्रबार काठमाडौं जिल्ला अदालतमा उपस्थित गराउने तयारी गरिएको छ।

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन्। बिहीबार भारतको नयाँ दिल्लीमा पक्राउ परेका उनलाई बागडोगरा हुँदै विराटनगरबाट जहाजमा काठमाडौं ल्याइएको हो।

२०७८ मा आफैंले रोजेर श्रम मन्त्रालयमा सरुवा मागेका अर्याल २७ महिना श्रम सचिव रहे। त्यही कार्यकाल अहिले उनलाई थुनासम्म पुर्‍याउने कारण बनेको छ। सीआईबीका अनुसार अर्याल सचिव हुँदा सात पटक रकम विदेश पठाएको भेटिएको छ।

विदेश पठाएको मिति र रकम

  • २०७९ भदौ १४ : १ लाख ३५ हजार ३७५ डलर
  • २०७९ असोज ११ : ६ लाख ६६ हजार ६३६ डलर
  • २०७९ कात्तिक २४ : ७ लाख ३५ हजार ८०३ डलर
  • २०७९ मंसिर १९ : ७ लाख ८० हजार ९८९ पाउन्ड
  • २०७९ पुस ११ : १७ लाख ४९ हजार ३०९ पाउन्ड
  • २०७९ माघ ५ : ९ लाख २५७ डलर
  • २०७९ फागुन १५ : १७ लाख १५ सय ८२ डलर

२०७६ देखि २०८१ सम्ममा ४ वटा नीतिगत निर्णयबाट राष्ट्र बैंकमार्फत १७ पटक रकम मलेसिया पठाइएको सीआईबीको अनुसन्धानमा देखिएको छ।

कुल रकम ८३ लाख ७० हजार चारसय ३९ डलर र ३७ लाख १७ हजार नौसय ८० पाउन्ड गरी एकअर्ब ६९ करोड दुई लाख २४ हजार २६ रुपैयाँ रहेको सीआईबीले जनाएको छ।

यो प्रकरणमा पूर्वमन्त्रीद्वय रामेश्वर राय यादव र शेरबहादुर कुँवर, तत्कालीन सचिव विनोद केसीसहित ६ जना यसअघि नै हिरासतमा छन्। मंसिर २ मा उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी हुँदा अर्याल सोही दिन बिहानै दिल्ली उडेका थिए।

२०७२ असारदेखि परीक्षणका रूपमा शुरु भएको प्रणालीबाट दुईलाख २२ हजारभन्दा बढी श्रमिकबाट करिब एकअर्ब रुपैयाँ संकलन भएको भेटिएको छ।

यसै प्रकरणमा असोज २९ मा म्याक्रोटेक कम्पनीका चारजना सञ्चालक पनि पक्राउ परेका थिए।

तर, सोही कार्यमा संलग्न देखिएका सभामुख डीपी अर्याल र पूर्वमन्त्री शरतसिंह भण्डारीमाथि भने अनुसन्धान अघि नबढेको देखिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार