पोखरा, ११ मंसिर २०८३ ।
युक्रेनसंग युद्ध गरिरहेको रुसले भ्रष्टाचारको आरोपमा आफ्नो देशका एरोस्पेस फोर्सका उप-कमान्डर कर्नल जनरल युरी ग्रेखोभ पक्राउ गरेको छ ।
मस्कोको सैन्य अदालतले नोभेम्बर २५ मा उनलाई पूर्व-परीक्षण हिरासतमा राख्न आदेश दिएको हो।
उनीमाथि “विशेष गरी ठूलो परिमाणमा घुस लिएको” आरोप छ। प्रमाणित भएमा १५ वर्षसम्म कैद हुन सक्छ। ग्रेखोभले भने आरोप अस्वीकार गरेका छन्।
६४ वर्षीय ग्रेखोभ हतियार तथा सैन्य सामग्री आपूर्तिको जिम्मेवारीमा थिए। सन् २०१८ देखि २०२१ सम्म उनी वायु तथा क्षेप्यास्त्र प्रतिरक्षा बलका कमान्डर थिए।
रुसी युद्ध ब्लगरहरूले यो गिरफ्तारीलाई पछिल्लो हवाई प्रतिरक्षा असफलतासँग जोडेका छन्।
क्रेमलिनले यसबारे टिप्पणी गर्न अस्वीकार गरेको छ।
रुसी रक्षा मन्त्रालयमा भ्रष्टाचारको मुद्दा नयाँ होइन। सन् २०२४ मा पूर्व रक्षामन्त्री सर्गेई शोइगुको स्थानमा आन्द्रेई बेलाउसोभ आएपछि कम्तीमा एक दर्जन मन्त्रालयका अधिकारी र जनरलहरू पक्राउ परेका छन् वा कानुनी कारबाहीको सामना गरिरहेका छन्। युद्ध सुरु भएयता वरिष्ठ रक्षा अधिकारीहरू विरुद्ध भ्रष्टाचार अनुसन्धानको शृंखला चलेको छ, जसमा कैयौंलाई लामो जेल सजायसमेत सुनाइएको छ।