काठमाण्डौ, २४ कात्तिक २०८३।
पाकिस्तानको रावलपिण्डीमा आइतबार टिभी प्रस्तोता राबिया अहसानको आफ्नै घरमा गोली लागेर मृत्यु भएको छ। उनलाई घाँटीमुनि गोली लागेको थियो।
उनका पतिले पेस्तोल मिलाउने क्रममा अचानक गोली चलेको दाबी गरेका छन्। तर राबियाका दाजुभाइको उजुरीपछि प्रहरीले पतिलाई हिरासतमा लिएको छ र घटनामा प्रयोग भएको बन्दुक बरामद गरेको छ।
४१ वर्षीया राबिया गुलशनाबादमा बस्थिन्। उनी निजी टिभी च्यानलमा प्रस्तोता थिइन्। उनका १३ र ११ वर्षका दुई छोरी छन्। गोली चल्दा दुवै छोरी घरको प्राङ्गणमा मावली हजुरआमासँग थिए।
प्रहरीले सदर बेरुनी चौकीमा हत्याको मुद्दा दर्ता गरेको छ। पञ्जाब फरेन्सिक टोलीले घरबाट प्रमाण संकलन गरिरहेको छ भने शव पोस्टमार्टमका लागि पठाइएको छ।
यसैबीच आसिफा भुट्टो जरदारीले घटनाको निन्दा गर्दै निष्पक्ष छानबिनको माग गरेकी छन्। उनले गत अगस्टमा रावलपिण्डीमै मारिएकी ४५ वर्षीया हिना जावेदको घटनालाई पनि स्मरण गराएकी छन्।