सुनसरी, २० कार्तिक २०८३।
सुनसरी-४ का सांसदसमेत रहेका उद्योग तथा आपूर्ति मन्त्री दीपककुमार साहकै निर्वाचन क्षेत्रमा किसानले रासायनिक मल नपाएपछि आक्रोशित बनेका छन्।
सुनसरीको हरिनगर गाउँपालिका-६ घुस्कीमा खेतीको मुख्य समयमा मल नपाउँदा किसानहरू सडकमा उत्रिएर टायर बालेर प्रदर्शन गरेका हुन्।
स्थानीय किसानले मल वितरणको जिम्मा पाएका डिलरहरूले किसानलाई नदिई भारततर्फ महँगोमा तस्करी गर्ने गरेको आरोप लगाएका छन्।
आपूर्ति व्यवस्था सम्हालेका मन्त्रीकै क्षेत्रमा किसानले मल नपाएर सडकमा आगो बाल्नुपर्ने अवस्था आउनुले सरकारी आपूर्ति व्यवस्थापनमाथि नै प्रश्न उठेको छ। किसानले तत्काल मल आपूर्ति सुनिश्चित गर्न र तस्करी तथा कालोबजारीबारे छानबिन गर्न माग गरेका छन्।