मुलुककै मुटु ठानिएको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्रै सांसदलाई ठक्कर दिएर मन्त्रीका सल्लाहकारको गाडी बेपत्ता भएको छ।
पूर्वाधारमन्त्री सुनिल लम्सालका यातायात विज्ञ सल्लाहकार अनुकूल निधीको गाडीले राष्ट्रिय सभा सदस्य राजेन्द्रलक्ष्मी गैरेलाई सिंहदरबारभित्रै ठक्कर दिएर बेपत्ता भएको हो।
नेकपा सांसद गैरेका अनुसार शुक्रबार पूर्वाधार मन्त्रालयअगाडि जेब्रा क्रसिङबाट बाटो काट्ने क्रममा उक्त घटना भएको हो। ‘मन्त्रालयअघि जेब्रा क्रसिङमा म बाटो काट्दै थिएँ, हात पनि दिएको थिएँ, तैपनि गाडीले ठक्कर दियो, भुइँमा लडेँ,’ उनले भनिन्।
ठक्करपछि बाहिरी चोट नदेखिए पनि शरीर दुखिरहेको उनले बताएकी छन्। घटनाबारे उनले राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाललाई समेत जानकारी गराएकी छन्।
गैरेका अनुसार घटना जानकारी गराउँदा पनि सल्लाहकार निधी सम्पर्कमा आएका छैनन्।
अनुकूल निधी प्रधानमन्त्री बालेन्द्र शाह काठमाडौं महानगरको मेयर हुँदादेखि नै उनको टिममा रहेका इन्जिनियर हुन् भने उनी कांग्रेस नेता विमलेन्द्र निधीका कान्छा छोरा हुन्।