बझाङको भामचौरमा जिप दुर्घटना : दुईजनाको मृत्यु, ६ जना घाइते

बझाङको भामचौरमा जिप दुर्घटना : दुईजनाको मृत्यु, ६ जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १९ कार्तिक २०८३
  • 399
    Shares

बझाङ, १८ कार्तिक २०८३।

 बझाङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ ।

बुधबार बिहान करिब १० बजेतिर केदारस्युँ गाउँपालिका–७ काँडाचौरतर्फ जाँदै गरेको सु.प.प्र.०१–००१ च ४३७६ नम्बरको जिप केदारस्युँ गाउँपालिका–७ भामचौरमा दुर्घटनाग्रस्त हुँदा दुई जनाको मृत्यु भएको हो भने अन्य ६ जना घाइते छन् ।

उक्त दुर्घटनामा केदारस्युँ गाउँपालिका–७ काँडाचौरका २७ वर्षीया पविता धामी र ४० वर्षीय गोपाल धामीको मृत्यु भएको बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर जोराले जानकारी दिए ।

सोही दुर्घटनामा परेर केदारस्युँ गाउँपालिका–७ का ४५ वर्षीय प्रेमबहादुर धामी, ३२ वर्षीय रमेश धामी, २६ वर्षीय रमेश धामी, दुर्गाथली गाउँपालिका–६ की ४२ वर्षीया शारदा धामी जाग्री र सोही ठाउँका ४२ वर्षीय रामकुमार धामी गम्भीर घाइते भएका छन् ।

केदारस्युँ गाउँपालिका–७ की २२ वर्षीया रेखा धामी मध्यम घाइते छन् । उनीहरूलाई स्थानीयले उद्दार गरी अस्पताल ल्याइरहेका छन् । घटनास्थल पुग्न प्रहरीलाई भने तीन घण्टाको समय लाग्ने डीएसपी जोराले बताए । अहिले प्रहरी त्यसतर्फ हिँडिसकेको छ ।

प्रहरीका अनुसार चालक बुगल नगरपालिका–२ का करिब ३१ वर्षीय मोहन धामीले चलाएको उक्त जिप भित्री सडकखण्डमा ब्रेक फेल भएपछि सडकबाट करिब १०० मिटर तल खसेको थियो ।

घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल बझाङ पठाइएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार