आमाको हत्या गरेका भागेका शाही १६ वर्षपछि भारतमा जडीबुटी बेच्दै गरेको अवस्थामा भेटिए

आमाको हत्या गरेका भागेका शाही १६ वर्षपछि भारतमा जडीबुटी बेच्दै गरेको अवस्थामा भेटिए


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १९ कार्तिक २०८३
  • 1.2K
    Shares

कैलाली , १८ कार्तिक २०८३।

आमाको हत्या गरेर भागेका एक व्यक्ति १६ वर्षपछि भारतमा जडीबुटी औषधि बिक्री गर्दै गरिरहेको अवस्थामा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कैलालीको बर्दगोरिया गाउँपालिका–१ का ४२ वर्षीय प्रेमबहादुर शाही रहेका छन् ।

प्रहरीका अनुसार , घरायसी विवादमा शाहीले २०६७ सालको पुष २८ गते आफ्नै ६५ वर्षीया आमा सुनरुपा शाहीको टाउकोमा ढुंगाले प्रहार गरेका थिए । छोराले हानेको ढुंगाले लागेर गम्भीर घाइते भएकी सुनरुपाको भोलिपल्ट नेपालगञ्जस्थित नर्सिङ होममा उपचारका क्रममा मृत्यु भएको थियो ।

घटनापछि शाही फरार भएका थिए । त्यतिबेला उनकी श्रीमती जमुनाले श्रीमानविरुद्ध सासुआमाको हत्या गरेको अभियोगमा कारबाहीको माग गर्दै प्रहरीमा उजुरी दिएकी थिइन् । तर, शाही भने पक्राउ परेका थिएनन् ।

प्राप्त विवरण अनुसार , तीन छोरी र एक छोराका बुवा समेत रहेका शाही विगत १६ वर्षदेखि भारतमा लुकेर बसेका थिए । उनी कहिलेकाहीँ सुटुक्क घर समेत आउने गरेको पाइएको छ ।

प्रहरीले पाएको गोप्य सूचनाका आधारमा उनलाई भारतीय प्रहरीको सहयोगमा दिल्ली नजिकैको मेरठबाट नियन्त्रणमा लिइएको हो । उनी भारतमा बसेर जडीबुटीको व्यापार गर्दै आएको खुलेको छ । हिमाञ्चलबाट जडीबुटी संकलन गरेर ल्याएर गाउँ–गाउँमा पुगेर बिक्री गर्दै आएका उनलाई जडीबुटी बिक्री गरिरहेकै अवस्थामा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको संयुक्त टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका शाहीलाई कैलाली जिल्ला अदालतबाट पक्राउ मितिदेखि लागू हुने गरी ५ दिनको म्याद थप अनुमति लिई प्रहरी हिरासतमा राखिएको छ । घटनाबारे थप अनुसन्धान इलाका प्रहरी कार्यालय सुखडले गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार