काठमाडौं , १६ कार्तिक २०८३।
सर्वोच्च अदालतको पूर्ण बैठक (फूलकोर्ट) ले हालैका दिनमा सम्माननीय प्रधानन्यायाधीश र माननीय न्यायाधीशहरूको नाम जोडेर विभिन्न छापा, अनलाइन सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा आएका समाचारहरूप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै पाँच बुँदे निर्णय गरेको छ। आज बसेको फूलकोर्ट बैठकले उक्त निर्णयहरू गर्दै सोबारे औपचारिक प्रेस विज्ञप्ति जारी गरेको हो।
प्रधानन्यायाधीश तथा सम्बन्धित न्यायाधीशहरूले आफ्नो धारणा लिखित रूपमा सार्वजनिक गरिसकेको सन्दर्भमा बसेको सर्वोच्चको पूर्ण बैठकले देहाय बमोजिमका ५ निर्णयहरू गरेको छ:

१. संविधान र कानूनको सर्वोच्चताप्रति प्रतिबद्धता: संविधान र कानूनको सर्वोच्चता सर्वोच्च अदालतको अटल आस्था र प्रतिबद्धता रहेको स्पष्ट पार्दै अदालतले यसमा आफूहरू अडिग रहेको र संविधानको सर्वोच्चता एवम् कानूनको शासनप्रति गम्भीर हुन सबैमा आग्रह गरेको छ।
२. निष्पक्ष छानबिन र सत्यतथ्य सार्वजनिक गर्न आग्रह: सार्वजनिक रूपमा प्रकाशित तथा प्रसारित विषयहरूका सम्बन्धमा बिना पूर्वाग्रह, निष्पक्ष र स्वतन्त्र ढङ्गले संविधान र कानून बमोजिम छानबिन गरी सत्य-तथ्यसहितको निष्कर्ष यथाशीघ्र सार्वजनिक गर्न सम्बद्ध निकायलाई आग्रह गरिएको छ।
३. अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता: सञ्चार माध्यममा आएका समाचारका सम्बन्धमा संविधान र कानून बमोजिम हुने छानबिन तथा अनुसन्धानमा कानून बमोजिम निर्वाह गर्नुपर्ने जवाफदेहीता र सहयोग गर्न सर्वोच्च अदालत पूर्ण रूपमा प्रतिबद्ध रहेको जनाइएको छ।
४. छानबिन निष्कर्षअघि लाञ्छित नगर्न र अवरोध नपुर्याउन आग्रह: न्यायपालिका जनताको आस्था र विश्वासमा अडिने संस्था भएकाले यस संस्थासँग सम्बन्धित समाचार प्रकाशन गर्दा आम जनता तथा सेवाग्राहीमा भ्रम र नकारात्मक असर नपरोस् भन्नाका लागि छानबिनको निष्कर्ष प्राप्त नहुँदै कसैलाई लाञ्छित गर्ने वा न्याय सम्पादनमा अवरोध पुग्ने गरी समाचार प्रकाशन तथा प्रसारण नगर्न आग्रह गरिएको छ।
५. न्यायिककर्मीहरूलाई निरन्तर कार्यमा क्रियाशील रहन आह्वान: प्रकाशित र प्रसारित समाचारहरूबाट विचलित नभई सदा झैँ न्यायिक कार्यमा क्रियाशील रहन सम्पूर्ण अदालतहरूमा कार्यरत सम्पूर्ण न्यायिककर्मीहरूलाई आग्रह गरिएको छ।
सर्वोच्च अदालतका प्रवक्ता एवम् सहरजिस्ट्रार डा. अशोककुमार क्षेत्रीद्वारा जारी विज्ञप्ति अनुसार पूर्ण बैठकबाट भएका यी निर्णयहरू सम्बन्धित सबैको जानकारीका लागि सार्वजनिक गरिएको हो।