डोल्पा, १६ कार्तिक २०८३ ।
डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ मा भारी हिमपातका कारण अलपत्र परेका ६ जना भारतीय पर्यटकको दुई दिनपछि सकुशल उद्धार गरिएको छ।
शे–फोक्सुण्डो गाउँपालिका–५ दानिगढमा अलपत्र अवस्थामा रहेका छ जना भारतीय पर्यटकहरुलाई पोखराबाट गएको सिम्रिक एयरको हेलिकप्टरले आज उद्धार गरेको हो।
जिल्ला प्रशासन कार्यालय डोल्पाका अनुसार, उद्धार गरिएका पर्यटकहरूमा पश्चिम बंगाल हावडा निवासी ३४ वर्षीया प्याली कोली, साउथ २४ पि.जि.एस. निवासी ३५ वर्षीया मोमिता हल्दार, साउथ २४ पि.जि.एस. निवासी २४ वर्षीया दिपलिना विश्वास, आन्ध्र प्रदेश करपा निवासी २८ वर्षीय जजला त्रिवेत कुमार, साउथ २४ पि.जि.एस. निवासी ३२ वर्षीय राजेश देव र नर्थ २४ पि.जि.एस. निवासी ३२ वर्षीय आदित्य सिंह रहेका छन्।
उद्धारपछि उनीहरूलाई जिल्ला अस्पताल दुनैमा ल्याइएको थियो। सामान्य स्वास्थ्य परीक्षणपछि सबै जना डिस्चार्ज भइसकेका छन्। सबैको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला प्रशासन डोल्पाले जनाएको छ।
जिल्ला प्रशासन कार्यालय डोल्पाका अनुसार, गएको कात्तिक १४ गते शे–फोक्सुण्डो–८ मा भारतीय पर्यटक फंसेको खबर सार्वजनिक भएको थियो।