डोल्पा कारागारबाट भागेका आठ कैदीको फोटो र विवरण सार्वजनिक

डोल्पा कारागारबाट भागेका आठ कैदीको फोटो र विवरण सार्वजनिक


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १५ कार्तिक २०८३
  • 1.1K
    Shares

डोल्पा, १४ कार्तिक २०८३।

डोल्पा जिल्ला कारागार, दुनैबाट सुरुङ खनेर भागेका ८ जना कैदीबन्दीको फोटो र विस्तृत विवरण सार्वजनिक गरिएको छ। जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय डोल्पाले फरार कैदीहरूको खोजी तीव्र पार्दै सर्वसाधारणलाई समेत सूचना दिन आह्वान गरेको हो।

कारागार प्रशासनका अनुसार फरार कैदीहरूले शुक्रबार राति सुत्ने कोठा (कच्ची भुइँ) बाट शौचालयको सेफ्टी ट्याङ्कीसम्म करिब ४.६३ मिटर लामो सुरुङ खनेर बाहिर निस्किएका थिए। शुक्रबार साँझ ५:३० बजेको गणनामा हाजिर रहेका उनीहरू शनिबार बिहान ६ बजेको गणनामा बेपत्ता देखिएपछि घटना बाहिरिएको थियो। राति १२ बजेपछि उनीहरू भागेको प्रारम्भिक अनुमान छ।

फरार हुनेहरूमा ५ जना जबरजस्ती करणी र ३ जना चोरी मुद्दाका छन्। तीमध्ये २ जना करिब ३ महिना अघि थुनामा ल्याइएका चोरी मुद्दाका थुनुवा हुन्।

फोटो र विवरण सार्वजनिक गरिएका ८ जना:

१. तिलक भण्डारी – ३८ वर्ष, रुकुम पश्चिम आठबिसकोट-५
२. आदेश भण्डारी – ३२ वर्ष, रुकुम पश्चिम आठबिसकोट-३
३. राम बि.क. – ३२ वर्ष, रुकुम पश्चिम आठबिसकोट-१०
४. रेशम राना – २८ वर्ष, सल्यान कुमाख-५
५. यज्ञ बि.क. – २५ वर्ष, जाजरकोट बारेकोट-१
६. कपिल परियार – १९ वर्ष, जाजरकोट नलगाड-९
७. कालीप्रसाद रोकाया – २९ वर्ष, डोल्पा त्रिपुरासुन्दरी-७
८. हरिबहादुर बुढा (धन बुढा) – २८ वर्ष, डोल्पा त्रिपुरासुन्दरी-४

जेलरका अनुसार सुरुङ खन्न बेल्चा / फरुवा जस्ता औजार प्रयोग भएको हुन सक्ने आशंकामा अनुसन्धान भइरहेको छ। कारागार भेरी नदी नजिकै रहेकाले र भवन पुरानो भएकाले सुरक्षा चुनौती बढेको बताइएको छ।

प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकाल र प्रहरी नायव उपरीक्षक अनिलराज गिरीका अनुसार फरार कैदीहरूको खोजीका लागि जिल्लाका सबै नाका र चेकपोइन्टमा निगरानी बढाइएको छ। छिमेकी जिल्लाहरूमा समेत पत्राचार गरी खोजी कार्य जारी राखिएको छ।

प्रहरीले फरार व्यक्तिहरूलाई देखेमा नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गरिदिन सर्वसाधारणमा अनुरोध गरेको छ।

जिल्ला कारागारमा कुल १७ जना कैदीबन्दी रहेकामा ८ जना फरार भएको प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले जानकारी दिइन्। उनका अनुसार शुक्रबार बेलुकी साढे ५ बजे गणना गर्दा सबै कैदीबन्दी उपस्थित थिए। शनिबार बिहान ६ बजे गणना गर्दा ८ जना फेला नपरेपछि घटना बाहिरिएको हो। उनीहरू मध्यरातपछि भागेको अनुमान गरिएको छ।

यसरी खनियो सुरुङ

जेलरका अनुसार कैदीबन्दीले सुत्ने कोठाबाट शौचालयको सेफ्टी ट्यांकीसम्म र त्यहाँबाट बाहिर निस्कने गरी सुरुङ खनेका हुन्। सुत्ने कोठा कच्ची भएकाले माटो खनेर सुरुङ बनाउन सहज भएको थियो।

‘सुत्ने कोठा पनि कच्ची थियो,’ जेलर आरसीले भने, ‘त्यहाँबाट सेफ्टी ट्यांकीसम्म र त्यहाँबाट बाहिर निस्कने गरी झन्डै ४ मिटर ६३ सेन्टिमिटर लामो सुरुङ खनेको देखिएको छ।’ सुरुङको नापजाँच गरेर रिपोर्ट तयार पार्ने काम भइरहेको उनले बताए।

प्रजिअ ढकालका अनुसार सुरुङको अवस्था हेर्दा सानो औजारले नभई बेल्चा वा फरुवा जस्ता वस्तुले खनेको जस्तो देखिन्छ। ‘खनिएको सुरुङ र घटनास्थलको मुचुल्का तयार पार्न प्रहरी खटिएको छ,’ उनले भनिन्।

फरार कैदीहरूले कारागार पछाडिको भेरी नदी पार गरेर भागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

फरार हुनेहरूको पहिचान

१. तिलक भण्डारी – ३८ वर्ष, रुकुम पश्चिम आठबिसकोट नगरपालिका-५ (चोरी मुद्दा, पुर्पक्ष)
२. आदेश भण्डारी – ३२ वर्ष, रुकुम पश्चिम आठबिसकोट नगरपालिका-३ (चोरी मुद्दा, पुर्पक्ष)
३. राम विक – ३२ वर्ष, रुकुम पश्चिम आठबिसकोट नगरपालिका-१०
४. रेशम राना – २८ वर्ष, सल्यान कुमाख गाउँपालिका-५
५. यज्ञ विक – २५ वर्ष, जाजरकोट बारेकोट गाउँपालिका-१
६. कपिल परियार – १९ वर्ष, जाजरकोट नलगाड नगरपालिका-९
७. कालिप्रसाद रोकाय – २९ वर्ष, डोल्पा त्रिपुरासुन्दरी नगरपालिका-७
८. हरिबहादुर बुढा (धन बुढा) – २८ वर्ष, डोल्पा त्रिपुरासुन्दरी नगरपालिका-४

खोजी र अनुसन्धान जारी

घटनापछि प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुखसहितको टोली खोजीमा खटिएको छ। प्रहरीले सुरुङ खन्न प्रयोग गरिएका औजार कहाँबाट ल्याइयो र कारागार प्रशासनले कसरी थाहा पाएन भन्ने विषयमा पनि अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार