पोखरा।, १३ कार्तिक २०८३।
पोखरा–२, बागलुङ बसपार्कबाट एक जना आयुर्वेद क्लिनिकका सञ्चालक पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले बागलुङ बसपार्कस्थित निदान आयुर्वेद क्लिनिकका सञ्चालक प्रफुल्ल यादवलाई बिहिबार दिउँसो पक्राउ गरेको हो।
पायल्सको उपचारका लागि क्लिनिक पुगेकी एक युवतीले आफ़ूमाथि यौन दुर्ब्यबहार भएको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा केही दिन अघि उजुरी दिए पछि आयुर्वेद क्लिनिक सञ्चालक रौतहट स्थायी घर भएका ३८ वर्षीय यादवलाई बिहीबार दिउँसो पक्राउ गरिएको प्रहरीले जिकिर गरेको छ।
पायल्सको उपचारका लागि क्लिनिक पुगेकी युवतीमाथि उपचारकै बहानामा यौन दुर्व्यवहार गरेको आरोपमा यादवविरुद्ध उजुरी परेको थियो। पीडित पक्षका अनुसार यादवले रोग निको पारिदिने भन्दै युवतीको संवेदनशील अंगमा अनुचित रूपमा छुनेलगायतका हर्कत गरेका थिए।
कास्की प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले यादव पक्राउ परेको पुष्टि गर्दै घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।
प्रहरीका अनुसार हाल ठाडो उजुरीका आधारमा अनुसन्धान भइरहेको छ। घटनास्थलको मुचुल्का तयार गर्ने र पीडितसँग थप विवरण लिने काम भइरहेको छ। पीडितको किटानी जाहेरी पर्न बाँकी रहेको बताइएको छ।
प्रहरी अनुसन्धानपछि प्राप्त प्रमाण र जाहेरीका आधारमा थप कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले हनाएको छ।