जनकपुरधाम , ६ कार्तिक २०८३।
दशैँको मेलाबाट घर फर्किँदै गरेका एक युवक र एक किशोरीलाई बाटो छेकी भिडियो बनाएर ब्ल्याकमेल गर्दै रकम असुल्नुका साथै ती किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा धनुषाको जनकपुरधामबाट चार जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–२० बस्ने २३ वर्षीय सुकन महतो, २६ वर्षीय सन्तोष कुमार दास, २२ वर्षीय पनेश कुमार महतो र ३० वर्षीय सुजित महतो रहेका छन्।
उनीहरुबिरुद्ध प्रहरीले धनुषाको जनकपुरधाममा दशैँको मेलाबाट फर्किँदै गरेका एक युवक र एक किशोरीलाई बाटो छेकी भिडियो बनाएर ब्ल्याकमेल गर्दै रकम असुल्नुका साथै बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार बिजयादशमीको राति करिब ८ बजे जनकपुरधाम उपमहानगरपालिका–२० मा दशैँ मेला हेरेर बसैलातर्फ पैदल जाँदै गरेका युवक र ती किशोरीलाई दुईवटा मोटरसाइकलमा आएका चार जनाको समूहले बाटो छेकेर धम्क्याएका थिए। उनीहरुले पीडितहरूलाई घेरा हाली जबरजस्ती भिडियो बनाएका थिए र उक्त भिडियो सामाजिक सञ्जालमा अपलोड गरिदिने धम्की दिएका थिए। त्यसपछि पीडितका अभिभावकलाई फोन गरी धम्क्याउँदै मोबाइल बैंकिङमार्फत ६ हजार रुपैयाँ ट्रान्सफर गर्न लगाएको अनुसन्धानबाट खुलेको छ।
त्यसै क्रममा आरोपितहरूले बालिकाको संवेदनशील अङ्गमा छुने लगायतका दुर्व्यवहार गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ। घटनाको सूचना पाउनेबित्तिकै खटिएको प्रहरी टोलीले बुधबार बिहान करिब ३ बजे चारै जनालाई नियन्त्रणमा लिएको प्राप्त समाचारमा जनाइएको छ।
प्रहरीले उनीहरूको साथबाट घटनामा प्रयोग भएका ज १२ प ७७७ र मधेश प्रदेश ०२–०१ प २९०२ नम्बरका दुईवटा मोटरसाइकल समेत बरामद गरेको छ।
पक्राउ परेका चारै जनामाथि आपराधिक लाभ तथा बाल यौन दुरुपयोग सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।