पोखरा, १७ असोज २०८३ ।
गत वर्ष भएको जेन जी आन्दोलनका क्रममा ध्वस्त भएको पोखराको छोरेपाटन प्रहरी चौकी पुनर्निर्माण भएको छ।
पोखरा महानगरपालिका–१७ छोरेपाटनमा रहेको उक्त प्रहरी चौकीको पुनर्निर्माणका क्रममा हिरासत कक्ष, शौचालय, मेश, खानेपानी ट्याङ्की र पानी निकासलगायत संरचना निर्माण गरिएको छ।
२०८२ भदौ २४ गतेको जेन्जी प्रदर्शनका क्रममा पूर्णरूपमा क्षतिग्रस्त प्रहरी चौकी स्थानीय तह, संघसंस्था तथा नागरिकको सहयोगमा पुनर्निर्माण गरिएको हो।
पुनार्निर्मित उक्त प्रहरी चौकीको आज जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी नबिन कार्कीले उद्घाटन गरे। त्यस अवसरमा उनले चौकी पुनर्निर्माणमा स्थानीय तह, संघसंस्था र नागरिकले गरेको सहयोगको प्रशंसा गर्दै नागरिक र प्रहरीबीच सहकार्य तथा विश्वासको वातावरण आवश्यक रहेको बताए ।
प्रहरी चौकी मर्मत–सम्भार समितिका अध्यक्ष शिवराज न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिका–१७, २१ र २२ का वडाध्यक्ष, वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर बोगटी, छोरेपाटन माध्यमिक विद्यालयका प्रधानाध्यापक डिल्लीराम शर्मा तथा स्थानीय संघसंस्था, टोल विकास संस्था र आमा समूहका प्रतिनिधिको उपस्थिति थियो।