काठमाडौं ४ कार्तिक २०८२।
इजरायलमा हमास समूहद्वारा बन्धक बनाइएपछि मारिएका नेपाली विद्यार्थी विपिन जोशीको शव नेपाल ल्याएर परिवारको जिम्मा लगाइएको छ।
हमास समूहद्वारा बन्धक बनाइएपछि मारिएका जोशीको शव सोमबार काठमाडौं ल्याइएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री सुशीला कार्की लगायत उच्च पदस्थ अधिकारीहरूले राष्ट्रिय झन्डाले ढाकिएको उनको शवमा श्रद्धाञ्जली अर्पण गरेका थिए।
जोशीप्रति श्रद्धाञ्जली व्यक्त गर्न प्रधानमन्त्री, मन्त्रीहरू र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरू विमानस्थल पुगेका थिए। त्यसपछि नेपाली सेनाको स्काइ ट्रकले साँझ ६:१० बजे शवलाई काठमाडौंदेखि धनगढी विमानस्थल ल्याइपुर्यायो। त्यहाँदेखि महेन्द्रनगरसम्मको दूरी सवारी साधनलाई एक घण्टाको हो। सेनाले समन्वय गरेको शव सोमबार राति ७:५० म भीमदत्त—३ स्थित घरैमा पुर्याएर शब् परिवारजनलाई बुझाइएको थियो।
अध्ययनका लागि इजरायल पुगेका जोशी २०२३ अक्टोबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणका क्रममा बन्धक बनाइएका थिए। लामो समयसम्म उनको अवस्था अज्ञात रहँदा गत असोज २७ गते इजरायली अधिकारीहरूले उनको मृत्यु पुष्टि गरेका थिए।